रेल सेवा विकास र विस्तारमा दक्षिण कोरिया इच्छुक : मन्त्री दाहाल

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

South Korea interested in developing and expanding rail services: Minister Dahal

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको रेल सेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरlयालाई आग्रह गरेका छन् ।

मंगलबार मन्त्री दाहालसँग भेट गर्न आएको दक्षिण कोरlयाली रेल कम्पनी कोरेलका प्रतिनिधिसँगको भेटमा उनले रेल सेवाको विकास र विस्तार नेपाल सरकारको समेत प्राथमिकताको विषय भएकाले लगानीका लागि आग्रह गरे ।

नेपाल धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले सम्पन्न राष्ट्र भएकाले त्यस्ता गन्तव्यलाई लक्षित गरि रेल सेवाको विस्तारमा अध्ययन, अनुसन्धानका लागि समेत मन्त्री दाहालले आग्रह गरे ।

लामो तथा छोटो दूरीको रेल सेवा विस्तारका लागि नेपालले लगानीको वातावरण बनाइरहेको उल्लेख गर्दै उनले लगानीका विभिन्न ‘मोडल’ बारे पनि छलफल गर्न सकिने उल्लेख गरे । छलफलका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेकाले विद्युतीय रेल मार्ग विस्तार उपयोगी हुने बताए ।

विज्ञ सम्मिलित कार्यदल गठन हुने

नेपाल लगानी बोर्डका कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा रेल मार्गको विकास र विस्तारका लागि दुवै देशका विज्ञहरूले विभिन्न मोडलमा अध्ययन गर्ने जनाए । केहि दिनभित्रमा नै दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन गरिने उनको भनाइ थियो 

छलफलमा रेल विभागका महानिर्देशक अजय मूलले नेपालमा रेल मार्ग विकासका लागि विभिन्न साझेदारहरूसँग छलफल भइरहेको बताए । कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका  कोरेलका प्रमुख कार्यकारी हान मुन हीले १ सय २६ वर्ष पुरानो कम्पनीले विश्वका विभिन्न देशमा रेल मार्गको विकास र विस्तारका लागि कार्य गर्दै आएको बताए । नेपालमा अध्ययन तथा लगानीका लागि नेपालको लगानी बोर्ड, रेल विभाग तथा कोरेलबीच दर्बिलो विश्वासको वातावरण बनाई थप कार्य अघि बढाउन सकिने उनको भनाइ थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully