दोहोरो अंकले घट्यो नेप्से

आइतबार २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच हुादा १० अर्ब २० करोड २७ लाखको कारोबार

वैशाख २९, २०८२

कान्तिपुर संवाददाता

NEPSE decreased by double digits

काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १२.५३ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा शून्य दशमलव ४७ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ४९.११ बिन्दुमा ओर्लिएको छ । गत बिहीबार घटेर बन्द भएको नेप्सेले आइतबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

आइतबार कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढ्यो भने १६४ वटाको घट्यो । आइतबार ८८ हजार ९ सय ५५ पटकको सेयर कारोबारमा २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब २० करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत बिहीबारको तुलनामा आइतबार कारोबार रकम घटेको छ । गत बिहीबार ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका कुल १३ उपसमूहमध्ये विकास बैंक, होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र व्यापारको परिसूचक बढे । जसअनुसार होटल तथा पर्यटन उपसमूहको परिसूचक ४००.८१, विकास बैंकको ५९.३८, जीवन बिमाको १५.०७ र व्यापारको १६.३० अंकले बढे । तर, बैंकिङ, वित्त कम्पनी, जलविद्युत्, इन्भेस्टमेन्ट, उत्पादन तथा प्रशोधन, लघुवित्त, सामूहिक लगानी कोष, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक घटे । जसअनुसार वित्त कम्पनी उपसमूहको परिसूचक ८६.२३, जलविद्युत्को ४८.९३ र उत्पादन तथा प्रशोधनको ३३ अंकले घटेको नेप्सेले जनाएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढ्दा सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गर्नुपरेको थियो । सो दिन हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.९९ र ओम मेगाश्री फर्मासिटिकल्सको ९.९८ प्रतिशतले बढ्यो । तर, सिन्धु विकास बैंकको सेयर मूल्य ७.३०, सिनर्जी पावर डेभलपमेन्टको ४.९३, ग्रिनलाइफ हाइड्रोपावरको ४.५२, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको ४.३३ र सप्तकोशी विकास बैंकको ४.१३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । 

कारोबार रकमका आधारमा आइतबार राधी विद्युत् कम्पनी, ङादी ग्रुप पावर, युनिभर्सल पावर कम्पनी, सानिमा माई हाइड्रोपावर र बुटवल पावर कम्पनी अग्र पंक्तिमा रहे । सो दिन राधी विद्युत् कम्पनीको ६६ करोड १० लाख ७० हजार, ङादी ग्रुप पावरको ६० करोड ६८ लाख ६८ हजार, युनिभर्सल पावर कम्पनीको ५४ करोड ६७ लाख ९५ हजार, सानिमा माई हाइड्रोपावरको ५३ करोड ३३ लाख ६८ हजार र बुटवल पावर कम्पनीको ३२ करोड ५७ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेको तथ्यांक छ ।

कान्तिपुर

Link copied successfully