४५ मेगावाटको ब्रह्मायणी विद्युत् आयोजनाको निर्माण सुरु 

वैशाख २९, २०८२

ऋषिराम पौड्याल

Construction of 45 MW Brahmayani Power Project started

काठमाडौँ — सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ब्रह्मायणी हाइड्रोपावर कम्पनीले ४५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण सुरु गरेको छ । कम्पनीले आइतबार सुरुङको मुखमा विस्फोट गराएर ब्रह्मायणी जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु गरेको हो । 

जुगल गाउँपालिका–२ छिन्दाङबाट ५.५ किमि सुरुङमार्फत ब्रह्मायणीको पानी तेम्बाथान नजिकैको द्विपुस्थित पावर हाउसमा पुर्‍याएर विद्युत् उत्पादन गर्ने योजना रहेको छ । आयोजना निर्माणका लागि प्रवेश मार्ग तथा इन्जिनियरिङ क्याम्प निर्माण भइसकेको छ । आयोजना निर्माणको वित्त व्यवस्थापन सानिमा बैंकको नेतृत्वमा वाणिज्य बैंकहरूले गर्ने सम्झौता भइसकेको छ । आयोजनाको लागत ९ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।  

कम्पनीका अध्यक्ष भरत पराजुलीका अनुसार तीन वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखेर काम अघि बढाइएको छ । विशेष परिस्थिति उत्पन्न  नभएमा आयोजनलाई तोकिएको समयमै पूरा गर्ने लक्ष्य राखेको जानकारी अध्यक्ष पराजुलीले दिए । आयोजनाले चार किमि नयाँ ट्रयाकसहित २७ किमि प्रवेशमार्ग निर्माणको निर्माण तथा मर्मत गरेको छ ।

बर्खायाममा पनि काम बन्द नहुनेगरी व्यवस्थापन मिलाइएको आयोजनाले जनाएको छ । त्यसका लागि अतिआवश्यक मेसिन तथा निर्माण सामग्री सुख्खा मौसममा ढुवानी गर्ने व्यवस्था मिलाइएको छ । कम्पनीले आयोजनास्थल पुग्न एउटा बेलिब्रिज बनाएको छ भने थप तीन वटा बेलिब्रिज बनाउने प्रस्ताव गरेको छ ।

पराजुलीले छिट्टै मूल ठेकेदार छनौटको प्रक्रिया पूरा गर्ने बताए । उनले निर्माणका लागि ठेकेदार छनौटको काम भइरहेको जानकारी दिए । स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीको उपस्थितिमा सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी किरण थापाले सुरुङ प्रारम्भ हुने मुखको भित्तामा स्विच थिचेर ब्लास्ट गराएका थिए ।

परम्परागत लामा तथा ब्राह्मण विधिले पूजाआजा गरेर सुरुङ निर्माण सुरु गरिएको हो । जुगल हिमालको काखमा रहेको छ । अरनिको राजमार्गको बलेफीबाट उत्तरतर्फ जलविरे हुँदै हिमालको फेदी रहेको आयोजनास्थ पुग्न सकिन्छ । 

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully