नागढुंगा–नौबिसे खण्डमा आठ किमि, नौबिसे–मलेखु खण्डमा १० किमि र मलेखु–मुग्लिन खण्डमा ४.९ किमि सडकमा दुईतर्फी नै पहिलो तहको कालोपत्र सकियो
काठमाडौँ — नागढुंगा–नौबिसे सडक भएर यात्रा गर्दै हुनुहुन्छ भने केही दिन यात्रा अस्तव्यस्त बन्न सक्छ । नागढुंगादेखि पिप्लामोडसम्मको १.८ किमि सडक भत्काउन थालिएकाले आवागमनमा समस्या हुन सक्ने भन्दै नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डले सूचना नै प्रकाशन गरेको छ । यही वैशाख ३१ सम्म राति ११ देखि बिहान ३ बजेसम्म सवारी आवागमन बन्द गरिएको सूचनामा उल्लेख छ ।
यसबीचमा यात्रा गर्नुपर्दा वैकल्पिक सडक प्रयोग गर्न भनिएको नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जनाए । सोमबार रातिदेखि पिप्लामोडबाट नागढुंगातर्फ कालोपत्र उप्काउन थालिएको उनको भनाइ छ । ‘वैशाख ३१ सम्म नागढुंगासम्म नै सडक सुधारका लागि कालोपत्र उप्काउँछौं,’ उनले भने, ‘बेलुका पुरानो कालोपत्रे भत्काउने, दिउँसो ग्राभेल गरी बेस राखेर नयाँ कालोपत्र भने गरिरहेका छौं ।’
नागढुंगा–नौबिसे खण्डको १२.२६ किलोमिटर पहिलो प्याकेजअन्तर्गत पर्छ । १ अर्ब ३० करोड रुपैयाँमा जाङ्सु–सगुन जेभीसँग २०७८ चैत २९ मा यस प्याकेजको निर्माण गर्ने गरी ठेक्का सम्झौता गरिएको हो । काम भने सम्झौताको करिब डेढ वर्षपछि २०७९ जेठ २६ मा मात्र सुरु भएको हो । २०८१ जेठ २७ भित्र काम नसकिएपछि २०८१ माघसम्मका लागि म्याद थपिए पनि लक्ष्यअनुसार काम हुन सकेको थिएन ।
फेरि २०८२ साउन १० सम्मका लागि म्याद थपिएको छ, प्रगति भने ७५ प्रतिशत पुगेको छ । यस खण्डमा खत्रीपौवादेखि नौबिसेसम्मको ८ किलोमिटरमा पहिलो तहको दुईतर्फी नै कालोपत्र गरिसकिएको छ । ‘त्यसमा पनि दुवैतर्फ तीन किमिमा दोस्रो तहको कालोपत्र गर्ने काम सकिएको छ,’ उनले भने, ‘धादिङतर्फ नागढुंगा सुरुङको मुख नजिकबाट पिप्लामोडसम्म अहिले भइरहेको कालोपत्र भत्काएर ग्राभेल गरी बेस राख्दै छौं ।’ केही दिन पानीले समस्या बनाए पनि यति बेला काम जारी रहेको ओझाले जनाए । ‘पिप्लामोडबाट सुरुङको मुखसम्मको ३.८ किमिमा हामीले कालोपत्र गर्ने हो, पिप्लामोडबाट खत्रीपौवासम्मको ६ सय मिटर दूरीमा नागढुंगा सुरुङ आयोजना कार्यालयले काम गर्छ,’ उनले भने ।
साउनसम्म पहिलो प्याकेजमा सबै कालोपत्रको काम सकिने ओझाको दाबी छ । ‘त्यसपछि सानातिना काम मात्र बाँकी रहन्छन्,’ उनले भने । खानीखोलामा पैदल यात्रीका लागि अपांगमैत्री अकासे पुल बनाइनेछ । ‘उक्त ठाउँमा पर्ने घर भत्काउनुपर्ने भएकाले दुई साताअघि मात्र क्षतिपूर्तिबारे निर्णय गराएर भत्काउन सुरु गरिएको छ,’ ओझाले भने, ‘ह्विलचियर गुडाएर तलमाथि गर्न मिल्ने अपांगमैत्री पुल बनाउँछौं ।’
दोस्रो प्याकेजमा पर्छ, नौबिसे–मलेखु खण्ड । यसको दूरी ४३.५४ किमि छ । ५ अर्ब ३३ करोड १९ लाखमा जेडआईसीजी–शर्मा–लामा जेभीले यसको ठेक्का लिएका हुन् । २०७९ वैशाख १४ मा ठेक्का सम्झौता भएको यस खण्डको काम २०८२ जेठ मसान्तमा सकिसक्नुपर्नेछ । अहिलेसम्म भौतिक प्रगति ३८ प्रतिशत मात्र छ । दुईतर्फी नै १० किमि पहिलो तहको सडक कालोपत्र गरिसकिएको योजना कार्यालयले जनाएको छ । यस खण्डमा विद्युत्का पोल सार्न नसक्दा भने काममा प्रगति बढाउन समस्या भएको छ ।
‘पहिला छुटेका २८ घरको क्षतिपूर्ति दिने निर्णय भएको छ, विद्युत्का पोल सार्ने काम पनि हुँदै छ,’ ओझाले भने । नागढुंगादेखि नौबिसेसम्म ४.७ किमि र नौबिसेदेखि मलेखुसम्म १७.५ किमि छुट्टै क्लाइम्बिङ लेन बन्नेछ । ‘बजार क्षेत्रमा चारदेखि ६ लेनसम्म सडक विस्तार हुनेछ, प्रायः धेरै ठाउँमा दुई लेन सडक हुनेछ,’ उनले भने, ‘तीन लेन भएको ठाउँमा एक लेन क्लाइम्बिङ बन्छ, मुग्लिनबाट काठमाडौंतर्फ आउँदा उकालो पर्ने ठाउँमा मालवाहक सवारीका लागि छुट्टै क्लाइम्बिङ लेन बनाइएको हो ।’ धेरै उकालो भएको र चौडाइ बढाउन सकिने ठाउँमा मात्र क्लाइम्बिङ लेन बनाइने उनले जनाए ।
तेस्रो प्याकेजमा पर्छ, मलेखु–मुग्लिन खण्ड । ३८.८६ किमि दूरीको यो खण्डको प्रगति २९ प्रतिशत छ । शर्मा–जेडआईसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो । २०७९ पुस १५ मा भएको सम्झौताअनुसार २०८२ पुसभित्र काम सकिसक्नुपर्ने हो । यस सडक खण्डको रमाइलो डाँडादेखि इच्छाकामना गाउँपालिका कार्यालयअघिसम्म ४.५ किमि चार लेन सडक दुईतर्फी नै कालोपत्र गरिसकिएको छ ।
चुम्लिङटारमा २ सय मिटर र फिस्लिङ बजारमा चार लेनमा डेढ सय मिटर सडक कालोपत्र गरिएको नागढुंगा–मुग्लिन सडक योजना, पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले बताए । गत असोजमा कृष्णभीरमा सय मिटर सडक भासिएको थियो । तलबाट त्रिशूली नदीले कटान गरिरहेको छ । अहिले भने ‘माइक्रो पाइलिङ’को काम गर्न लागिएको उनले जनाए । ‘अहिले नदीमा काम हुने होइन, माथि सडकमै ‘एंकर’ को काम हुने हो,’ उनले भने, ‘केही दिनमा यसको काम सुरु हुन्छ ।’
कृष्णभीरबाट तल नदी किनारबाटै काम गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए । ‘भविष्यमा समस्या नहुने गरी काम गराउँछौं,’ उनले भने । ठेक्का भएको खण्डमा पानी परेकाले कालोपत्रको काम गर्न समस्या भएको योजना प्रमुख नेपालले सुनाए । ‘यस खण्डमा सर्भे डिजाइन बिग्रेर ठेक्का भएको सात महिनापछि मात्र काम थालिएको हो, जुन हाम्रै कारणले गर्दा ढिला भएको थियो,’ उनले भने ।
तेस्रो खण्डमा २.२ किमिको ६ लेन सडक बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ । चार लेन सडक ७.२ किमिको हुनेछ । यसले रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौंदी र विशालटार समेट्नेछ । उकालो–ओरालो खण्डमा ३ लेनको क्लाइम्बिङ लेन पनि बनाइनेछ, जुन २.३ किमिको हुने छ । बाँकी सडक डेडिकेटेड दुई लेनको हुने नागढुंगा–मुग्लिङ सडक योजना कार्यालयले जनाएको छ ।
