९६ कम्पनीको सेयर मूल्य बढ्यो, १५० कम्पनीको मूल्य घट्यो, ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १२.०४ अंकले घटेको छ । अघिल्ला दुई कारोबार दिन लगातार बढेको नेप्से बिहीबार घटेको हो । यो साता आइतबार र सोमबार घटेको नेप्से गत मंगलबार १.०३ र बुधबार ६२.२५ अंकले बढेको थियो । त्यसअघि पाँच कारोबार दिन नेप्से निरन्तर घटेको थियो ।
बुधबारको तुलनामा बिहीबार शून्य दशमलव ४५ प्रतिशतले घटेर नेप्से २ हजार ६ सय ६१ दशमलव ६४ बिन्दुमा ओर्लिएको हो । सो दिन कारोबारमा आएका कुल १३ उपसमूहमध्ये फाइनान्स, जलविद्युत्, जीवन बिमा, उत्पादन तथा प्रशोधन र सामूहिक लगानी कोषको सेयर मूल्य बढ्यो ।
यस्तै फाइनान्स कम्पनी उपसमूहको परिसूचक १०४.९३, जलविद्युत्को १.१७, जीवन बिमाको १.७०, उत्पादन तथा प्रशोधनको १२.३० र सामूहिक लगानी कोषको शून्य दशमलव शून्य एक अंकले बढेको छ । घट्ने उपसमूहहरूमा व्यापार, निर्जीवन बिमा, लघुवित्त, होटल तथा पर्यटन, विकास बैंक, बैंकिङलगायत रहे ।
कुल ९६ कम्पनीको सेयर मूल्य बढ्यो भने १५० कम्पनीको मूल्य घट्यो । कुल ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भए । साताको अन्तिम कारोबार दिन १ लाख ३ हजार ३ सय १९ पटकको सेयर किनबेचबाट ११ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबार रकम २०८१ फागुन २१ यताकै उच्च हो । २०८१ फागुन २० मा १२ अर्ब ९४ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसपछि चैत ३ मा १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँ र चैत १४ मा १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँको कारोबार भएको थियो । बुधबार १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ कारोबार भएकामा बिहीबार ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेकरमार्फत कारोबार नियन्त्रण गर्नुपरेको थियो । उक्त दिन छ्याङ्दी हाइड्रोपावरको ९.९९, ओम मेगाश्री फर्मास्युटिकल्सको ९.९९ र आईसीएफसी फाइनान्सको ९.७४ प्रतिशतले सेयर मूल्य बढेको नेप्सेले जनाएको छ ।
सिन्धु विकास बैंकको ४.१५, ग्रिन डेभलपमेन्ट बैंकको ३.८३, हिमालयन पावर पार्टनरको ३.३४, बुटवल पावर कम्पनीको ३.२९ र नारायणी विकास बैंकको ३.१७ प्रतिशतले सेयर मूल्य घटे । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, सानीमा माई हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, राधी विद्युत् कम्पनी र अपी पावर कम्पनी अघि रहे ।
ङादी ग्रुप पावरको ७८ करोड ४५ लाख ९६ हजार, सानिमा माई हाइड्रोपावरको ६५ करोड ४९ लाख २६ हजार, युनिभर्सल पावर कम्पनीको ५७ करोड १ लाख, राधी विद्युत् कम्पनीको ४३ करोड ३९ लाख ८८ हजार र अपी पावरको ३८ करोड ९६ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले बताएको छ ।
