विशेष कन्टेनरमा भित्रिन थाल्यो कच्चा तेल

वैशाख २६, २०८२

शंकर आचार्य

Crude oil started entering in a special container

पर्सा — ढुवानीदेखि डेलिभरीसम्मको सेवा उपलब्ध भएपछि पर्सा-बारा औद्योगिक करिडोरका वनस्पति तेल उद्योगले कन्टेनरमै क्रुड आयाल (कच्चा तेल) आयात गर्न थालेका छन् । सिर्सिया सुक्खा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीले आयातकर्ताको कच्चा तेल हल्दिया बन्दरगाहदेखि नेपालस्थित उद्योगसम्मै डेलिभरी सेवा दिन थालेपछि एक महिनायता तीन रेल्वे र्‍याकमा कच्चा तेल आयात भइसकेको छ । 

प्रिस्टिन भ्यालीका प्रशासन प्रमुख अतुल शर्माका अनुसार आयातकर्ताले तेस्रो मुलुकबाट आयात गर्ने यस्तो कच्चा तेल हल्दिया बन्दरगाहसम्म पानी जहाजबाट आइपुग्छ । त्यहाँ स्टोरेज ट्यांकमा भण्डारण गरिने कच्चा तेललाई यस्तो तेल बोक्न बनाइएको विशेष कन्टेनरमै पम्प गरेर भरिन्छ । विगतमा परम्परागत शैलीको कन्टेनरमा आउने गरेका यस्तो कच्चा तेल अहिले विशेष कन्टेनरमा भित्रिन थालेका हुन् । 

मंगलबार तेस्रोपटक रेल्वे र्‍याकमा यसरी कच्चा तेल बन्दरगाहमा भित्रिएको थियो । हालसम्म करिडोरका श्री शिवशक्ति आयल उद्योग र अन्नपूर्ण भेजिटेबल उद्योगले यसरी कच्चा तेल आयात गरेको उनले बताए । 

एक रेल्वे र्‍याकमा ९० कन्टेनर हुने गरेको छ । एक कन्टेनरमा २२ टन तेल बोक्ने क्षमता हुन्छ । हल्दिया बन्दरगाहबाट २ दिनमै वीरगन्ज ल्याइने र सुक्खा बन्दरगाहमा भित्रिएको कच्चा तेल त्यसको भोलिपल्टैदेखि आयातकर्ताको उद्योगसम्म पुर्‍याउने गरिएको शर्मा बताउँछन् ।  ‘यो सेवा दिनका लागि हल्दिया बन्दरगाहमा विशेष खालको प्लान्ट नै जडान गरिएको छ,’ शर्माले भने, ‘प्रिस्टिनले आफ्नै रेलमा वीरगन्जसम्म कन्टेनर ल्याएर यहाँबाट उद्योगसम्मै डेलिभरी सेवा दिन्छ ।’ प्रिस्टिनको यो नयाँ प्रयास सफल भएको र आयातकर्ताले रुचाएको समेत उनले दाबी गरे । 

एकैपटक सबै कच्चा पदार्थ रेलबाट आयात गर्दा आयातकर्ताको ढुवानी लागत घट्ने र समयको पनि बचत हुने शर्मा बताउँछन् । 

६ महिनायता नेपालबाट भारततर्फ भटमास तथा सूर्यमुखीको तेल उच्च परिमाणमा निर्यात भइरहेको छ । भारतमा भारतीय तेलभन्दा नेपाली तेल सस्तो पर्ने भएकाले नेपाली तेलले बजार पाइरहेको छ । यस्तो अवस्थामा नेपाली तेल उद्योगले निकासी गर्नका लागि बढी उत्पादन गरी रहेको र त्यसका लागि कच्चा पदार्थ पनि ठूलो परिमाणमा आयात गरिरहेका छन् । 

सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराई विगतमा पुरानो शैलीको कन्टेनरमा वीरगन्ज भन्सार नाकाबाट आयात हुने गरेकामा हाल क्रुड आयल रेलबाट आयात गर्दा सुक्खा बन्दरगाह नाकाबाट आयात हुन थालेको बताउँछन् । पहिलो पटक भित्रिएको तीन र्‍याक क्रुड आयल अर्जेन्टिनाबाट आयात भएको उनले बताए । 

सिर्सिया सुक्खा बन्दरगाहको यार्डमा क्रुड आयल बोक्ने कन्टेनर । 

तस्बिर : शंकर/कान्तिपुर 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully