कपिलवस्तुबाट तीन ब्रान्डका चाउचाउ उत्पादन सुरु

वैशाख २५, २०८२

मनोज पौडेल

Production of three brands of noodles started from Kapilvastu

कपिलवस्तु — जिल्लाबाट एसियन थाई फुड्स प्रालिले चाउचाउ उत्पादन सुरु गरेको छ । कपिलवस्तु नगरपालिका–६, गोबरीमा उद्योग स्थापना गरेर प्रीति, टू पीएम र रमपम ब्रान्डका चाउचाउ उत्पादन सुरु गरेको हो । बुधबार धार्मिक विधिपूर्वक पूजाआजा गरी उत्पादन शुभारम्भ गरिएको छ ।

एसियन थाई फुड्सको यहाँ सञ्चालित दोस्रो युनिट हो । यसअघि सुनसरीको सोनापुरमा उद्योग संचालित थियो । मुलुकको पश्चिमी क्षेत्रमा चाउचाउ माग धेरै रहेकाले पूर्वमा रहेको उद्योगबाट ल्याउँदा यातायात खर्च बढी लाग्ने हुँदा कपिलवस्तुमा उद्योग संचालन गरिएको उद्योगका प्रबन्ध निर्देशक महेश जाजुले बताए ।

‘यहाँ उद्योगको राम्रो सम्भावना पायौं,’ उनले भने, ‘अब सुदूर पश्चिम क्षेत्रमा बजार विस्तार गर्न थप सजिलो हुन्छ ।’ त्यस्तै भारतको उत्तर प्रदेशसँग सटेर रहेको र लखनउसम्म पुग्न पनि सहज यातायात हुँदा भारत निर्यात गर्न पनि सजिलो भएकाले यहाँ उद्योग खोलिएको उनले बताए ।

अढाई बिघा क्षेत्रफलमा ४० करोड लागतमा उद्योग स्थापना गरिएको हो । एक दिनमा २० मेट्रिक टन अर्थात् ४ लाख ५० प्याकेट चाउचाउ उत्पादन गर्न सक्ने क्षमता उद्योगको छ । अहिले ८० जनालाई रोजगारी दिइएको छ ।

पूर्ण क्षमतामा उद्योग संचालन भए २ सय ५० जनालाई रोजगारी मिल्ने बताइएको छ । यहाँबाट केही समयपछि चिप्स, स्न्याक्स र मसला उत्पदान पनि गर्ने बताइएको छ । उद्योगको सोनापुरमा रहेको फ्याक्ट्रीबाट ३२ मुलुकमा चाउचाउ निर्यात भइरहेको छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully