निर्यात प्रवर्द्धनमा लाग्न उद्योगी व्यवसायीलाई मन्त्री भण्डारीको आग्रह

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०२५ सुरु, नेपाल, चीन र बंगलादेशका १२० स्टल

वैशाख २५, २०८२

कान्तिपुर संवाददाता

Minister Bhandari's request to industrialists to promote exports

काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण बिहीबारबाट काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ ।मेला वैशाख २९ सम्म चल्ने छ । 

सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा सुरु भएको हो ।

मेलाको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गरे ।

नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उनले सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवर्द्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताए ।

'हामीले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौं । यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ,' उनले भने ।

हालै संसदमा पेस भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको भन्दै उद्योगमन्त्री भण्डारीले देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताए ।

Minister Bhandari's request to industrialists to promote exports

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुर्‍याउने जनाए । मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफुहरुले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उनको भनाइ छ । 'मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ,' उनले भने ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनुपर्ने बताए । नेपाल, चीन र बंगलादेशका गरी १२० भन्दा बढी स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिसँग द्विपक्षीय व्यापार र लगानीका अवसरबारे पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जनाए ।

महासंघले यो मेला १० औं संस्करणसम्म आइपुगेको छ । अबका दिनमा यसलाई थप परिस्कृत र परिमार्जन गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्रान्डिङ गर्नुपर्ने बताए ।

कान्तिपुर

Link copied successfully