बैंक नोटबाहेक छपाइका सबै काम नेपालमै सुरु : सञ्चारमन्त्री

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

All printing except bank notes will start in Nepal: Minister of Communications

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैंक नोटबाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन्।

बुधबार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नोटबाहेकका सबै छपाइ सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको बताएका छन्। जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उनको भनाइ छ। पासपोर्टलगायत सुरक्षाका कुनै पनि सामग्री छपाइका लागि अब विदेश जानु नपर्ने उनको भनाइ छ।

उनले भने, ‘बैंक नोटबाहेक सबै चिज उत्पादन गर्न सक्ने, प्रिन्ट गर्न सक्ने प्रिन्टिङ प्रेसको प्रबन्ध भइसकेको छ। म्यानपावरको हिसाबले प्रबन्ध गरेर, वित्तीय व्यवस्थापन गरेर हामी त्यो काम गर्दैछौँ। अबदेखि यस्ता चिजहरू छाप्नका लागि विदेश जानुपर्दैन। त्यो काम मन्त्रालयले सुरु गरिसकेको छ।’

मन्त्री गुरुङले चलचित्र विकास बोर्डको पुरानो ऐन विस्थापित गरेर नयाँ बनाउने प्रक्रिया सुरु गरेको बताएका छन्। उनले बोर्डको नयाँ ऐन दर्ता भइसकेकाले पास भएर छिट्टै सञ्चालनमा ल्याइने बताएका छन्। उनले चलचित्र विकास बोर्डको आफ्नै स्वामित्वको भवन निर्माणको काम समेत भइरहेको बताएका छन्। चलचित्र क्षेत्रलाई उद्योगको रूपमा विकास गरी राजस्व आर्जनको महत्त्वपूर्ण क्षेत्र बनाउने उनको भनाइ छ।

उनले भने, ‘यो वर्षभित्र मन्त्रालयलाई धेरै कुरामा दुरुस्त बनाउँदै छौँ। चलचित्र विकास बोर्डको पुरानो ऐन थियो, त्यसलाई हामीले दर्ता गरिसकेका छौँ, त्यो पास हुन्छ। त्यसको यही वर्षदेखि बिल्डिङ बनाउने काम सुरु हुन्छ। आफ्नै स्टुडियो भवन हुन्छ। त्यसले चलचित्र विकासको क्षेत्रमा रहेका धेरै विकृतिहरू हटाउँदै लगेका छौँ हामीले। र ठूलो राजस्व आर्जन गर्ने ठाउँमा पुगेका छौँ, र इन्डस्ट्रीलाई विकास गर्ने कुरामा हाम्रो मन्त्रालय अघि बढिसकेको छ। कोमामा परेको थियो त्यो, मृत प्रायः थियो। भेन्टिलेटरमा राखिएको थियो, त्यहाँबाट निकालेर अहिले काम गर्ने ठाउँ बनाएका छौँ त्यसलाई।’

सञ्चारमन्त्री गुरुङले जनताको हकहित सुनिश्चित गर्नु राज्यको दायित्व भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य र मान्यता जोगाउन गोरखापत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।

कान्तिपुर

Link copied successfully