काठमाडौँ — विज्ञापन क्षेत्रको नियामक निकाय विज्ञापन बोर्डको अध्यक्ष पदका लागि प्राप्त आवेदनहरूको नामावली सार्वजनिक गरिएको छ। सूचना तथा प्रसारण मन्त्रालयले प्रकाशित गरेको नामावलीअनुसार अध्यक्ष पदका लागि ६ जनाको आवेदन परेको छ।
अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयले २०८२ साल वैशाख ५ मा आवेदन खुला गरेको थियो । आवेदकहरूमा लक्षमण हुमागाईं, कविता शर्मा, सुजन राजा श्रेष्ठ, अशोक कुमार घिमिरे, पदम राज जोशी र अनन्त कान्त मैनाली छन् । अध्यक्ष पदका लागि पुनः प्रतिस्पर्धामा उत्रिएका हुमागाईं बोर्डका पूर्वअध्यक्ष हुन् । २०७७ चैतमा नियुक्त भएका हुमागाईंको कार्यकाल गत चैतमा समाप्त भएको थियो ।
विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७६ को दफा १४(४) अनुसार अध्यक्ष पदका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न एक सिफारिस समिति गठन गरिनेछ । त्यसमा मन्त्रालयका सचिव संयोजक, मन्त्रालयले नियुक्त गरेको सम्बन्धित विषयका एकजना विज्ञ सदस्य र सहसचिव सदस्य-सचिव रहनेछन् । समितिले योग्यता पुगेका उम्मेदवारहरुमध्येबाट उपयुक्त व्यक्ति छनोट गरी सिफारिस गर्नेछ ।
‘अध्यक्षको पदमा नियुक्तिका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा मन्त्रालयले नियुक्त गरेको सम्बन्धित विषयको एकजना विज्ञ सदस्य र मन्त्रालयको सहसचिव सदस्य सचिव रहेको एक सिफारिस समिति रहनेछन्,’ दफा ४ मा भनिएको छ, ‘सो समितिले दफा १७ बमोजिमको योग्यता पुगेका व्यक्तिहरुमध्येबाट तोकिए बमोजिम खुला प्रतिस्पर्धाबाट उपयुक्त व्यक्ति छनोट गरी नियुक्तिको लागि नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।’ दफा १८ मा अध्यक्ष बोर्डको कार्यकारी प्रमुख हुने र उनको कार्यकाल चार वर्षको हुने उल्लेख छ ।
