नेप्से र कारोबार रकम दुवै घटे   

वैशाख २२, २०८२

कान्तिपुर संवाददाता

Both NEPSE and turnover decreased

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ९.६२ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.३६ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय १०.७६ विन्दुमा ओर्लेर बन्द भएको छ ।

अघिल्ला चार कराोबार दिन लगातार घटेको नेप्सेले सोमबार पनि सोही प्रवृति पछ्याएको हो । लगातार नेप्से ओरालो लाग्दा लगानीकर्ता निरुत्साहित भएका छन् ।

सो दिन कारोबारमा आएकामध्ये ८६ कम्पनीको सेयर मूल्य बढ्यो भने १५९ वटाको घट्यो भने एउटा कम्पनीको स्थिर रहयो ।  ६५ हजार ८ सय ८४ पटकको सेयर कारोबारमा १ करोड ८४ लाख ३७ हजार ९ सय ४२ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।  अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । आइतबार सेयर बजारमा ९ अर्ब २४ करोड ५५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये लघुवित्त, सामूहिक लगानी कोष र निर्जीवन बिमाको परिसूचक सामान्य अंकले बढे । बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा झन्डै दोहोरो अंकको गिरावट आएको हो । 

कान्तिपुर

Link copied successfully