९ महिनामा १५ लाख ८५ हजार स्मार्टफोन आयात, निर्यात एउटा मात्र

चैत मसान्तसम्म आएका २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरका स्मार्टफोन

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

In 9 months, 1.5 million 85 thousand smartphones were imported, only one was exported

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा नेपालमा १५ लाख ८४ हजार स्मार्टफोन आयात भएका छन्। मोबाइल फोन डिजिटल पहुँचको प्रमुख साधनका रूपमा स्थापित भएसँगै आयात दरमा निरन्तर वृद्धि भएको देखिन्छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरका १५ लाख ८४ हजार ९ सय ५६ वटा स्मार्टफोन आयात गरिएको छ। यसबाट सरकारलाई ४ अर्ब ७३ करोड १५ लाख रुपैयाँ राजस्व प्राप्त भएको भन्सार विभागको तथ्यांक छ।

अघिल्लो महिना १४ लाख ७० हजार ७८ वटा स्मार्टफोन भित्रिए। त्यसका लागि २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ मूल्य तिर्दा सरकारले ४ अर्ब ८५ करोड १ सय ८३ राजस्व प्राप्त गरेको छ। माघमा १२ लाख २९ हजार ९ सय ५७ र पुसमा ११ लाख ११ हजार ५ सय ५६ थान स्मार्टफोन आयात गरिएको छ।

मासिक औसत २ लाख स्मार्टफोन नेपाल भित्रिएको देखिन्छ। धेरैजसो फोन चीनबाट आयात हुने गरेको छ। चैतसम्ममा चीनबाट १५ अर्ब ९४ करोड ८ लाख ५६ हजार रुपैयाँ बराबरका ११ लाख ७० हजार ८३ वटा स्मार्टफोन आयात गरिएको छ। यसै गरी भारतबाट २ लाख ९४ हजार ८ सय २२, भियतनामबाट १ हजार २८, जापानबाट ८१६, युएईबाट ६३६ वटा स्मार्टफोन नेपाल भित्रिएका छन्।

चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा नेपालमा ७ करोड ७१ लाख ६२ हजार रुपैयाँ बराबरका २१ लाख ४ सय २६ थान सिम कार्ड आयात भएको देखिन्छ। यसबाट सरकारले १ करोड ९१ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। विभागले हालै सार्वजनिक गरेको वैदेशिक व्यापारको पछिल्लो तथ्यांकअनुसार नेपालमा छिमेकी चीन र भारतसहित विभिन्न १३ देशबाट सिम कार्ड आयात हुने गरेको छ।

यस अवधिमा १ करोड ४ लाख ४९ हजार रुपैयाँ बराबरका १८ हजार ९ सय ३१ किलोग्राम रिचार्ज कार्ड आयात गरिएको छ। १ लाख ८० हजार ८ सय ६० वटा मेमोरी कार्ड आयात गरिएको छ भने ८ लाख ४१ हजार ८ सय ८९ वटा स्मार्ट कार्ड नेपाल भित्र्याएको छ।

नेपालबाट निर्यात भएका ग्याजेट्स

पछिल्ला वर्षमा नेपालबाट उल्लेख्य मात्रामा सूचना प्रविधि सेवा निर्यात भइरहेको छ। यसरी निर्यात हुने आईटी सेवामा सबैभन्दा धेरै हिस्सा सफ्टवेयर निर्माणको देखिन्छ।

सूचना प्रविधि सेवा वा सफ्टवेयर उल्लेख्य निर्यात भइरहँदा नेपालको हार्डवेयर निर्यात भने न्यून छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालबाट एउटा स्मार्टफोन, ४०९ वटा स्मार्टवाच, ६ वटा मोबाइल फोन चार्जर, ३१ वटा मल्टिपल लाउडस्पिकर, ३ वटा भिडियो रेकर्डिङ डिभाइसलगायत निर्यात भएका छन्।

ल्यापटप र नोटबुक ९ वटा निर्यात भएको र त्यसको कुल निर्यात मूल्य ४ लाख ६८ हजार रुपैयाँ रहेको भन्सार विभागको तथ्यांक छ। यी ल्यापटप वा नोटबुक ५ थान भारतमा र एक–एक थान अस्ट्रेलिया, इटाली, जापान र नेदरल्यान्ड्स निर्यात भएका छन्।

यस वर्ष नेपालबाट अमेरिका निर्यात भएको एउटा स्मार्टफोनको मूल्य १ लाख ७० हजार थियो। संयुक्त अरब इमिरेट्स निर्यात भएका ४ सयवटा स्मार्टवाचको मूल्य ६ लाख ८ हजार देखिन्छ।

कान्तिपुर संवाददाता

Link copied successfully