बाढीले क्षति गरेका सबै सडकको ठेक्का, काम बर्खापछि मात्र

बीपी राजमार्गको बर्खे खोला–डालाबेंसी खण्डको कामको जिम्मा जाइकालाई

वैशाख १८, २०८२

विमल खतिवडा

Contracts for all flood damaged roads, work only after rain

काठमाडौँ — गत असोजमा आएको बाढीबाट क्षति पुगेका सबैजसो सडकको ठेक्का भएको छ। अहिले बीपी राजमार्गको एक खण्डबाहेक सबैतिर ठेक्का गरेर काम अघि बढाइएको सडक विभागले जनाएको छ। बाढीले करिब एक दर्जन सडकमा क्षति पुर्‍याएको थियो।

बर्खाअघि भने यी सडक अस्थायी रूपमा मर्मत गरेर सञ्चालनमा ल्याइने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए। ‘बाढीले क्षति गरेका सडक बर्खाअघि स्थायी रूपमा बन्दैनन्,’ उनले भने, ‘अस्थायी रूपमा मर्मत गरेर चलाउँछौँ। बर्खापछि भने स्थायी निर्माणको कामले गति लिन्छ।’ बाढीले बीपी राजमार्गको २८ किलोमिटर क्षेत्रमा क्षति पुर्‍याएको थियो।

सिन्धुलीमा एक र काभ्रेतर्फ तीन प्याकेज बनाएर ठेक्का गरिएको हो । काभ्रेतर्फ एक खण्डको ठेक्का हुन बाँकी छ। नेपाल थोक–बर्खे खोला, डालाबेंसी–चार सयबेंसी खण्डको ठेक्का भइसकेको छ। चार सयबेंसीबाट भकुन्डेबेंसी खण्डको गत चैत ७ मा ठेक्का आह्वान गरिसकिएको छ। डालाबेंसी–बर्खे खोला खण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले काम गर्ने निर्णय भएको सचिव शर्माले जनाए।

‘बर्खे खोला–डालाबेंसीको दूरी ५.५ किमी छ, जसमा अहिले जाइकाले ३.२ किमीमा काम गर्ने र बाँकी २.३ किमीमा काम गर्न सक्ने सम्भावना मात्र रहेको सुनाएको छ,’ उनले भने, ‘३.२ किमीमा काम थालिहाल्ने कुरा भएको छ। २.३ किमीमा निर्णय गर्न दुई–चार महिना लाग्ने कुरा आएको र यसमा निर्णय नभए नेपाल सरकार आफैँले सुरु गर्ने उनले बताए।’

‘यस खण्डमा जाइकाले लगानी गर्ने निर्णय भयो भने बर्खाअघि नै सडक हस्तान्तरण गर्छौँ,’ उनले भने, ‘तर बर्खाअघि निर्णय नभए असारअघि नै हामी ठेक्का गर्छौँ।’ जापानले अनुदान सहयोगमा सडक बनाइदिने शर्माको भनाइ छ। यसका लागि जाइकाले स्थलगत रूपमा हेर्ने र अध्ययन गर्ने कामसमेत गरिसकेको मन्त्रालयले जनाएको छ। यसअनुसार दुई लेन सडक बन्नेछ।

२८ किलोमिटर खण्डमै दुई लेनको स्ट्यान्डर्डअनुसार सडक निर्माण गरिनेछ। बीपी राजमार्गको स्थायी निर्माण र मर्मत गर्नलाई सडक डिभिजन भक्तपुर र खुर्कोटमार्फत ८ अर्ब ५० करोड रुपैयाँ माग गरिएको थियो। यसअनुसार भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराइएको हो।

यी सडकमा भयो ठेक्का

– बीपी राजमार्ग (एक खण्ड बाँकी)
– अरनिको राजमार्ग
– मेची राजमार्ग
– कान्ति राजमार्ग
– बिब्ल्याटे–माइपोखरी–सन्दकपुर सडक
– सिद्धार्थ राजमार्ग
– चरिकोट–सिँगटी सडक
– खुर्कोट–मिल्टी र तामाकोशी–मिल्टी सडक
– भकुन्डेबेंसी–तिमाल–सिन्दुरेटार सडक
– दोलखाको किर्नेटार–जाफे सडक
– थानकोट–चित्लाङ सडक

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully