प्राविधिक कारण देखाउँदै प्राधिकरणको श्वेतपत्र जारी भएन

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

The authority's white paper was not released citing technical reasons

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले मंगलबार सार्वजनिक गर्ने भनिएको श्वेतपत्र प्राविधिक कारण देखाउँदै स्थगित गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले मंगलबार साढे ११ बजे श्वेतपत्र जारी गर्ने औपचारिक सूचना जारी गरेको थियो ।

तर प्राविधिक कारण देखाउँदै मंगलबार श्वेतपत्र जारी भएन । मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको सचिवालयले अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको जनाएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा सोमबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त श्वेतपत्र स्वीकृत गरिसकेको स्रोतले बताएको छ । 

सञ्चालक समितिका एक सदस्यका अनुसार सोमबार नै श्वेतपत्र स्वीकृत गरिसकेकाले त्यसमा उल्लेखित तथ्यांकहरू मिलाएर सार्वजनिक गर्ने कार्यक्रम तय भइसकेको थियो । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले तीन वर्षको उपलब्धि सार्वजनिक गर्दै गत साउनमा मुलुकभर ९९ प्रतिशत विद्युतीकरण भएको बताएका थिए । तर ऊर्जा मन्त्रालयबाट प्राप्त प्राधिकरणले तयार पारेको श्वेतपत्रको सारांशमा विद्युतीकरण ९१.४१ प्रतिशतमा पुगेको उल्लेख छ । 

०८१ माघसम्म कुल ग्राहक संख्या ५५ लाख ८६ हजार ३७ रहेको उल्लेख गरिए पनि घिसिङले सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको जनाएका थिए । ‘देशभरको विद्युतीकरणदेखि विद्युत्को पहुँच पुगेका घरपरिवारको संख्या पहिलाकोभन्दा कम थियो ।

त्यसैले त्यसलाई मिलाउन बोर्ड बैठकले निर्देशन दिएको थियो,’ ती सदस्यले भने, ‘मंगलबार नै उक्त श्वेतपत्र सार्वजनिक गर्ने तयारी थियो ।’

महालेखापरीक्षकले लेखापरीक्षण गरिसकेको र प्राधिकरणले नै यसअघि सार्वजनिक गरिसकेको तथ्यांकलाई तलमाथि गर्दा अप्ठ्यारो पर्ने देखिएपछि बोर्डले एउटै बनाउन निर्देशन दिएको ती सदस्यको भनाइ छ । तर प्राधिकरणले प्राविधिक कारण देखाउँदै मंगलबार श्वेतपत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरेको हो । 

बोर्डको निर्देशनअनुसार प्रतिवेदनको सारांशमा थप काम गर्नुपर्ने र समय अभाव भएकाले स्थगित गरिएको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बताए । ‘सोमबारको बोर्ड बैठकले सारांशमा थप काम गर्न निर्देशन दिएको थियो, त्यो काम नै सकिएन, अब छिट्टै सार्वजनिक गर्छौं,’ उनले भने, ‘प्राधिकरणको समितिले बनाएको प्रतिवेदनमा केही काम गर्नुपर्ने छैन, सारांशमा मात्र काम गर्नुपर्ने छ ।’

गत चैत ११ मा मन्त्रिपरिषद् बैठकले तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेका थिए । चैत १२ मा शाक्यले कार्यभार सम्हालेलगत्तै बसेको बोर्ड बैठकले घिसिङको कार्यकालमा भए/गरेका काम र प्राधिकरणको वर्तमान वित्तीय अवस्था देखाउन श्वेतपत्र जारी गर्ने निर्णय गरेको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully