काठमाडौँ — लामो समयदेखि शिथिललाई अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक क्षेत्रबाट हदैसम्मको प्रयास गरिएको नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगाना तिम्सिनाले बताएकी छिन् । नेपाल राष्ट्र बैंकको ७०औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै तिम्सिनाले अधिक तरलता र न्यून ब्याजदरका साथै बाहृय क्षेत्र परिसूचकहरू सबल रहेको सन्दर्भमा मौद्रिक क्षेत्रबाट अर्थतन्त्रलाई चलायमान बनाउन हदैसम्मको प्रयास गरिएको बताएकी हुन् ।
‘पछिल्लो उपलब्ध सार्वजनिक वित्त, वैदेशिक व्यापार र आर्थिक वृद्धिको तथ्यांकले आर्थिक गतिविधिमा सुधार हुँदै गएको आँकलन गर्न सकिन्छ,’ उनले भनिन, ‘विगतमा आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा असुली केही प्रभावित हुन गई निष्क्रिय कर्जा अनुपात बढेकोमा आर्थिक गतिविधिमा सुधार भएसँगै निष्क्रिय कर्जा अनुपातमा समेत सुधार हुने अपेक्षा छ ।’
वित्तीय स्थायित्वका लागि अपनाइएका नियमनकारी व्यवस्थाको प्रभावसमेत देखिँदै गएको छ । यसरी मौद्रिक, वित्तीय तथा विदेशी विनिमय नीतिमार्फत समिष्टगत आर्थिक स्थायित्व कायम राख्न नेपाल राष्ट्र बैंक कटिबद्ध रहेको पनि उनले बताइन । यद्यपि, पछिल्लो समय खासगरी अमेरिकी अन्तर्राष्ट्रिय व्यापार एवम् आर्थिक सहयोग नीति र भूराजनीतिक तनावजस्ता बाहृय कारणले अर्थतन्त्रमा थप दबाब पर्न सक्ने जोखिम भने कायमै पनि उनको भनाइ छ ।
