भाटभटेनी र बिगमार्टले अरुले उत्पादन गरेको वस्तुमा आफ्नो लेबल लगाउन नपाउने

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

Bhatbhateni and Bigmart cannot put their own label on products manufactured by others

काठमाडौँ — भाटभटेनी सुपरमार्केट र बिगमार्टले आयातकर्ताबाट आयात भई आएका वस्तुहरूमा लेबल लगाउन नपाइने भएको छ । आयातित वस्तुमा आयातकर्ताबाट लेबल लगाएको वस्तु खरिद गरेर मात्र बिक्री वितरण गर्न पाउने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

भाटभटेनी र बिगमार्टले आफूले उत्पादन गरेका वस्तुहरूमा मात्र लेबल लगाउन पाइने भएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दहालले गत शुक्रबार भाटभटेनी सुपरमार्केट र बिगमार्टका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटघाटमा गरी उक्त निर्देशन दिएका हुन् ।

'भाटभटेनी सुपरमार्केट र बिगमार्टले कम्पनीले उत्पादन गरेका वस्तुहरूमा मात्र कम्पनीबाट लेबल लगाउने तर अन्य आयातकर्ताबाट आयात भई आएका वस्तुहरूमा आयातकर्ताबाट लेबल लगाएको वस्तु खरिद गरेर मात्र बिक्री वितरण गर्ने व्यवस्था मिलाउने,' विभागद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । 

भाटभटेनी सुपरमार्केट र बिगमार्टका प्रतिनिधिहरूले शुक्रबारदेखि नै आयातकर्ताको लेबल भएको वस्तुमात्र उक्त स्टोरहरूमा भित्रिने गरी निर्देशनको पालना गर्ने प्रतिबद्धता गरेका छन् ।

'नेपालको संविधानको धारा ४४ को उपभोक्ताको हकको भावना र मर्मअनुरूप एवं उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादकले आफूले उत्पादन गरेका वस्तुमा तथा पैठारी गरिएको वस्तु भए पैठारीकर्ताले बिक्री वितरण गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनु पर्ने कानुनी व्यवस्था रहेको सर्वविदितनै छ,' विज्ञप्तिमा भनिएको छ । 

कान्तिपुर

Link copied successfully