कागजमा प्रतिबन्धित छोकडाको निर्बाध आयात

प्रतिबन्धित वस्तु त खुलमखुला आइरहेको छ भने आयात खुला गराएका अन्य खाद्यवस्तु नियमनको अवस्था कस्तो होला ?

वैशाख १३, २०८२

राजु चौधरी

Unhindered importation of paper banned children

काठमाडौँ — सरकारले २०७६ चैत २४ मा छोकडा आयातमा पूर्ण प्रतिबन्ध लगायो । तर २०७७ चैत ९ मा आर्थिक वर्ष २०७७/७८ का लागि ५ हजार टन ननाघ्ने गरी परिमाणात्मक बन्देज लगायो । त्यसपछिको अर्को आर्थिक वर्षदेखि भने छोकडा आयात प्रतिबन्ध लागिरहेको छ । तर रोचक त यो छ, यसबीचमा निर्बाध रूपमा भन्सार बिन्दुबाटै ठूलो परिमाणमा छोकडा भित्रिरहेको छ ।

आखिर यो कसको स्वार्थमा आइरहेको छ ? प्रतिबन्ध जारी रहँदारहँदै पनि कसको मिलेमतोमा सरकारी कर्मचारीले आयात गर्न दिइरहेका छन् ? किनकि छोकडा आयातमा पूर्ण प्रतिबन्ध लागेको २०७८/७९ यता नै करिब ८ करोड रुपैयाँको छोकडा भित्रिइसकेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा मात्रै ३ करोड ७४ लाख बराबरको करिब ३ लाख केजी छोकडा आयात भएको छ । 

‘राजपत्र हेर्दा छोकडा प्रतिबन्ध लगाइएको वस्तु हो । तर वैध रूपमै कसरी आयो भन्ने नै अचम्मको विषय बनेको छ । नियमबाहिर गएर छोकडा आयात भएको छ,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले भने, ‘प्रतिबन्धित वस्तु आयातका लागि प्रज्ञापनपत्र दिइएको छ, त्यो नै ठूलो गल्ती हो । वस्तु इन्ट्री खुला गर्नेको लापरबाही हो ।’ 

नियमभन्दा बाहिर गएर आयात गरिएको छोकडा औद्योगिक प्रयोजनमा खपत भएको छैन, व्यापारिक प्रयोजनका लागि उपयोग गरिएको दाहालले जनाए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र प्लान्ट क्वारेन्टिन कार्यालयको मिलोमतोमा छोकडा आयात भएको जानकार बताउँछन् । सीमित व्यवसायीको स्वार्थ पूरा गर्न भन्सार विभाग र प्लान्ट क्वारेन्टिन कार्यालयका केही कर्मचारीले व्यवसायीलाई साथ दिएका छन् । यही निकायको मिलोमतोमा प्रतिबन्धित छोकडा आइरहेको उनीहरूको भनाइ छ । 

‘सरकारले २०७६ चैत २४ मा छोकडा आयातमा पूर्ण प्रतिबन्ध लगाएपछि २०७६ भित्र एलसी खोलिसकेको र आउन बाँकीलाई अनुमति दियो । त्यसपछि २०७७/७८ का लागि ५ हजार टनको सीमा तोकेपछि मन्त्रालयकै ग्रिन सिग्नलमा व्यापारी आयात गर्न तम्सिएका हुन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यसपछि भन्सार र प्लान्ट क्वारेन्टिन कार्यालयसँगको सेटिङमा भित्रिएको देखिन्छ ।’ 

नियमविपरीत आयात अनुमति दिने कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने ती अधिकारीको भनाइ छ । ‘सरकारले बन्देज गरेको वस्तु सरकारकै एउटा जिम्मेवार निकायले पालना गरेको देखिएन, जिम्मेवार भएन । एउटाले बन्देज लगाउने, अर्काले आयात अनुमति गर्ने गरेको देखिन्छ,’ ती अधिकारीले भने, ‘यसले भन्सार कोडको कुनै भ्यालु नै राखेन । खुला सीमाले गर्दा कुनकुन वस्तु आयात भएको भन्ने अन्योल सिर्जना गरेको छ ।’

२०७६ चैत २४ मा प्रतिबन्ध लागे पनि २०७६/७७ मा २ अर्ब ७२ करोड २४ लाखको छोकडा आयात भएको भन्सार विभागको तथ्यांक छ । २०७७/७८ का लागि ५ हजार टनको लागि कोटा तोकियो । यस अवधिमा २ करोड २६ लाखको छोकडा आयात भएको छ । त्यसपछि सरकारले २०७८/७९ देखि छोकडा आयातमा पूर्ण प्रतिबन्ध लगाएको छ । तर २०७८/७९ मा ४ करोड १३ लाखको आयात भएको भन्सारको तथ्यांक छ । 

२०७९/८० मा २ लाख र २०८०/८१ मा ६ लाख रुपैयाँको छोकडा आयात भएको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३ करोड ७४ लाखको छोकडा आएको छ । यस अवधिमा विराटनगर झोरहाटमा रहेको आरके ड्राइफुड्स प्रोसेसिङ उद्योगले २ लाख ५७ हजार ३ सय ५० केजी छोकडा आयात गरेको छ । 

‘आरके ड्राइफुड्सले विराटनगर भन्सार कार्यालयबाट इन्ट्री गराएको छ । २०८१ साउनदेखि २०८१ कात्तिकसम्म २ लाख ५७ हजार ३ सय ५० केजी छोकडा आयात गरेको देखिन्छ,’ वाणिज्य विभागका एक अधिकारीले भने, ‘आयातित छोकडा ट्रेडिङ प्रयोजनमा खपत भएको छ ।’

विराटनगर भन्सार कार्यालयले नेपालतर्फ पैठारी गर्न गेटपास दिएको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ हुन् । उनीसँग फोन सम्पर्क हुन सकेन । छोकडा आयात प्रतिबन्ध नै रहेको भन्सार विभागका सूचना अधिकारी नारायणप्रसाद रेग्मीले जनाए । आयात प्रतिबन्धको अवस्थामा आउनु नपर्नेमा आयात भइरहेको उनले पनि स्विकारे । ‘छोकडा आयात प्रतिबन्ध नै हो, आयात बन्देजको अवस्थामा आउन नहुने हो, तर आएको देखियो,’ रेग्मीले भने । 

खाद्यवस्तुको आयात अनुमति खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रअन्तर्गतका कार्यालयले दिन्छन् । तर छोकडाको आयात अनुमति जारी नगरिएको खाद्यका उपमहानिर्देशक सोमकान्त रिजालले बताए । पछिल्लो समय आयातित छोकडाको आयात अनुमति प्लान्ट क्वारेन्टिन कार्यालय विराटनगरले जारी गरेको छ । यसकोआयात प्रतिबन्धबारे आफूलाई जानकारी नभएको कार्यालयका निमित्त कार्यलय प्रमुख नन्दकिशोर सिंहले बताए । ‘नेपालमा उत्पादन हुँदैन । त्यही भएर मागअनुसार आयात अनुमति दिएका छौं । प्रतिबन्धबारे हामीलाई जानकारी छैन,’ उनले भने । 

कुन वर्ष कतिको आयो छोकडा ? 

आर्थिक वर्षआयात रकम

२०७६/७७२ अर्ब ७२ करोड २४ लाख

२०७७/७८२ करोड २६ लाख 

२०७८/७९४ करोड १३ लाख

२०७९/८०        २ लाख

२०८०/८१        ६ लाख 

२०८१/८२        ३ करोड ७४ लाख (९ महिना)

स्रोत : भन्सार विभाग

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully