नेप्सेमा झिनो अंकको सुधार

आइतबार १६.६८, सोमबार ७.७५, मंगलबार ९.९६ र बुधबार ३२.३८ अंकले घटेको नेप्से बिहीबार २.०८ अंकले बढ्यो

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

Improvement of minor points in NEPSE

काठमाडौँ — साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा २.०८ अंक (०.०७ प्रतिशत) ले बढेर समग्र नेप्से २ हजार ६ सय ५८ दशमलव ०२ बिन्दुमा उक्लिएको छ ।

पछिल्लो चार कारोबार दिनयता निरन्तर घटेको नेप्सेमा साताको अन्तिम कारोबार दिन झिनो अंकको सुधार देखिएको हो । गत आइतबार नेप्से परिसूचक १६.६८, सोमबार ७.७५, मंगलबार ९.९६ र बुधबार ३२.३८ अंकले घटेको थियो । लगातार घटिरहेको सेयर बजारमा बिहीबार केही कम्पनीको सेयरमा लगानीकर्ताले बढाएपछि समग्र नेप्से सकारात्मक बनेको हो ।

सो दिन कुल ८३ कम्पनीको सेयर मूल्य बढ्यो, १ सय ६१ कम्पनीको मूल्य घट्यो भने एक कम्पनीको मूल्य स्थिर रह्यो । अन्तिम कारोबार दिन अधिकांश उपसमूहको परिसूचक घट्यो । जसअनुसार होटल तथा पर्यटन उपसमूहको परिसूचक ७५.८४, जीवन बिमाको ४२.९९, विकास बैंकको ४१.४६, निर्जीवन बिमाको ३४.६७ र फाइनान्स कम्पनीको २०.६८ अंकले घटे । तर, व्यापार उपसमूहको परिसूचक १७.७२, जलविद्युत्को ७.७३ र लगानीको २.८१ अंकले बढेको नेप्सेले जनाएको छ । 

बिहीबार ७० हजार ७ सय ३ पटक किनबेच हुँदा ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ करोड ९७ लाख ५४ हजार २ सय ४५ कित्ता सेयर किनबेच भए । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले बढे । यस्तै, ङादी ग्रुप पावरको सेयर मूल्य ७.५६, विन नेपाल लघुवित्तको ७.२९ र युनिभर्सल पावर कम्पनीको ७.२० प्रतिशतले बढेको नेप्सेको तथ्यांक छ ।

उक्त दिन नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ७.१२, ग्रिन डेभलपमेन्टको ४.८५, कर्पोरेट विकास बैंकको ४.२०, सिन्धु विकास बैंकको ४.१९ र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य ३.६६ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, राधी विद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, युनिभर्सल पावर कम्पनी र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी अग्रपंक्तिमा रहे ।

बिहीबार ङादी ग्रुप पावरको ७० करोड ३४ लाख, राधी विद्युत् कम्पनीको ५७ करोड २३ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ५२ करोड ५२ लाख, युनिभर्सल पावर कम्पनीको ४७ करोड ३ लाख र हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टको २८ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

कान्तिपुर

Link copied successfully