गण्डक जलविद्युत् आयोजनाको नहर मर्मतका लागि विद्युत् उत्पादन बन्द

वैशाख ११, २०८२

रासस

Power generation stopped for canal maintenance of Gandak hydropower project

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) — पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७, गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ।

जलविद्युत् केन्द्रका प्रमुख पिताम्बर भुसालका अनुसार उक्त केन्द्रको उत्पादन कार्य डेढ महिनादेखि बन्द छ। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकास्थित त्रिवेणीबाट बहने गण्डक नहरको पानी भारतले बन्द गरेपछि उत्पादन अवरुद्ध भएको हो।

गत फागुन २६ गतेदेखि नहरमा पानी आउन छाडेपछि उत्पादन ठप्प भएको भुसालले जानकारी दिए। भारतले नहर बन्द (क्यानल सटडाउन) गरेर सरसफाइ तथा मर्मत कार्य गरिरहेको जनाइएको छ।

नेपाल–भारत गण्डक सम्झौताअनुसार सन् १९७९ मा भारतले निर्माण गरेको यो जलविद्युत् केन्द्र १९८१ अगस्ट ३१ मा नेपाललाई हस्तान्तरण गरिएको थियो। करिब ४४ वर्ष पुरानो यस केन्द्रको नहर सञ्चालन तथा नियन्त्रण भारतको उत्तर प्रदेशस्थित गोरखपुर सिँचाइ विभागको जिम्मामा छ।

भुसालका अनुसार भारतीय पक्षले हरेक वर्ष कार्तिक–मंसिर र चैत–वैशाख गरी दुई पटक नहर बन्द गर्दै आएको छ, जसले गर्दा उत्पादनमा अवरोध भएर दैनिक सातदेखि आठ लाख रूपैयाँसम्म घाटा हुने गरेको छ।

१५ मेगावाट क्षमताको यो केन्द्र हाल चारदेखि साढे चार मेगावाट मात्रै उत्पादन गरिरहेको छ। तीन वटा टर्बाइनमध्ये दुई टर्बाइन मात्र सञ्चालनमा छन् भने एक टर्बाइन बिग्रिएर थन्किएको छ।

केन्द्रमा रहेका विद्युत् उपकरण पुराना प्रविधिका भएकाले ती परिवर्तन गरेर सुधार गर्नु आवश्यक रहेको प्रमुख भुसालले बताए।

रासस

Link copied successfully