भूकम्पपछि बल्लतल्ल बौरिएका इँटा उद्योगीहरु कोभिडपछि निरन्तर मार खेपिरहेका छन् ।
काठमाडौँ — आर्थिक गतिविधि चलायमान बनाउन नसक्दा इँट्टा उद्योग धमाधम बन्द हुन थालेका छन् । संचालनमा आएका उद्योगहरुको पनि आधाभन्दा कम उत्पादन गरिरहेका छन् । उत्पादित इँटा पनि बिक्री हुन नसक्दा उद्योगीहरु घाटामा गइरहेका छन् ।
नेपाल इँटा उद्योग महासंघका अध्यक्ष शंकरबहादुर चन्दले आर्थिक मन्दी नै मुख्य कारण रहेको बताए । उनले उपत्यकामा रहेका ९५ हाराहारीमा इँटाभट्टाहरुमध्ये ५० प्रतिशतभन्दा कम मात्रै सञ्चालनमा रहेको बताए । उनले भने, ‘४० वटा मात्रै इँटाभट्टाहरु चलेका छन् । चलेका पनि पूर्ण क्षमतामा चलेका छैनन् ।’
इँट्टा व्यवसायी सबिन गाइँजुले कोभिड महामारीपछि इँटाको व्यापार खस्किएको बताए । उनले कोभिड अघि ५० देखि ६० लाख रुपैयाँसम्मको व्यापार हुने गरेको तर त्यसपछि आधै घटेको बताए । जगातीस्थित चाइनिज इँट्टा उत्पादन गर्ने भक्तपुर इँट्टा तथा टायल उद्योगका कर्मचारी केशव थापाले साढे दुई करोडसम्म इँट्टा उत्पादन हुने कारखानामा अहिले ३० देखि ४० लाख हाराहारी इँट्टामात्रै उत्पादन भइरहेको बताए । उनले पछिल्लो समय खासै व्या पारमा सुधार नआएको बताउँदै भने, ‘अहिले ४० लाख हाराहारी मात्रै इँट्टा बिक्री भइरहेका छन् एउटा सेक्टर बन्द भएर कामदारहरुलाईं तलब खुवाउन पनि गाह्रो छ ।’
भक्तपुर इँट्टाका उद्योगी दुर्गाप्रसाद मल्लले पछिल्ला चार वर्षयता इँटा उद्योगको संख्या निरन्तर घट्दै गएको बताए । उनले स्थानीय सरकारबाट केही अपेक्षा गरे पनि केही सहयोग नपाएको गुनासोसमेत सुनाए ।
सुर्यविनायक नगरपालिका-१० बाचामारीस्थित मैत्री हनुमान इँट्टा उद्योग पनि मन्दीको सिकार बनेको छ । सञ्चालक कृष्णकुमार किसीले कोरोनापछि सुरु भएको संकट अहिले झनै बढेको बताउँदै भने, ‘तीन वर्षयता उत्पादन भएका २० लाख इँटा स्टकमा छ । अहिले महिनामा २० देखि २५ हजार मात्रै इँटा मात्रै बिक्री हुन्छ ।’ ललितपुरस्थित सहयोग इँटा उद्योगका कर्मचारी दिनेश शर्माले पनि गोदाममा इँटा थुप्रिएको बताए ।
भक्तपुरस्थित श्याम निर्माण सप्लार्यसका व्यवसायी श्यामसुन्दर गाइजुले भूकम्पले खस्किएको इँटाको व्यापार कोभिडले झनै कमजोर बनाएको बताए । उनले भने, ‘अवस्था कस्तो सम्म छ भने कामदारलाई महिना पुगेपछि तलब दिन पनि गाह्रो छ ।’
नेपाल इँटा उद्योग महासंघका उपाध्यक्ष विनयकुमार यादवले इँटाभट्टाहरु धमाधम बन्द हुन लागेको बताए । उनी भन्छन्, ‘सरकारले इँटाभट्टाले प्रदूषण फैलाएका कारण धमाधम बन्द भएको बताए पनि कुरा त्यस्तो होइन् ।’ उनले पछिल्लो समय आधुनिक प्रविधिबाट इँटा बनिरहेको बताउँदै प्रदूषणका कारण नभएर इँटाको माग नै घटेकाले उद्योगहरु चल्ने नसक्ने अवस्थामा पुगेको बताए । उनले एउटा इँटाभट्टामा ५/६ करोड लगानी भएको बताउँदै भने, ‘यतिका ठूला उद्योग घाटामा गएर बन्द हुँदैछन् ।’
आरती पौडेल, अभिषेक अधिकारी/प्रशिक्षार्थी
