अघिल्ला दुई दिन लगातार घटेको नेप्से मंगलबार पनि ओरालो लाग्यो
काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ९.९६ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.३६ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ८८.३२ बिन्दुमा ओर्लेको छ । आइतबार र सोमबार पनि घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।
केही सातायताको राजनीतिक उतारचढाव, गभर्नर नियुक्तिमा सत्ताधारी दल कांग्रेस र एमालेबीच रस्साकसी, दुई सातायताको शिक्षकहरूको काठमाडौंकेन्द्रित आन्दोलन र त्यसले सिर्जना गरेको यातायातमा असहजतालगायत कारण लगानी वातावरण झनै बिग्रिएको भन्दै लगानीकर्ताले थप लगानी गर्न चाहेका छैनन् ।
तेस्रो त्रैमासमा बैंकहरूको वित्तीय विवरण पनि सन्तोषजनक छैन । धेरै बैंकको नाफा घटेको छ, यसको असर वितरणयोग्य नाफामा परेको छ । बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेकाले धेरै बैंकहरूले खराब कर्जाबापतको नोक्सानी व्यवस्था पनि बढाएका छन् । कर्जा असुलीमा समस्या भए पनि बैंक तथा वित्तीय संस्थाको खुद ब्याज आय पनि घटेको छ ।
त्यसै पनि बढ्न नसकिरहेको बजारमा उल्लिखित घटनाले झनै नकारात्मक असर परेकाले सेयर बजार बढ्न नसकेको जानकारहरू बताउँछन् । सो दिन कारोबारमा आएकामध्ये ८६ कम्पनीको सेयर मूल्य बढ्यो भने १६० वटाको घट्यो र एउटा कम्पनीको स्थिर रह्यो ।
७१ हजार ६ सय ९४ पटकको सेयर कारोबारमा २ करोड २५ लाख ५५ हजार ७ सय १३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ३२ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक घटे पनि कारोबार रकम पनि घटेको हो । सोमबार ८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्यको परिसूचक बढे । तर, बाँकी सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्से झन्डै दोहोरो अंकले घटेको हो ।
