काठमाडौँ — भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले दुई दिने भ्रमण सकाएर स्वदेश फर्किएका छन् ।
भ्रमणका क्रममा खट्टरले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेटघाट गरेका थिए ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र भारतका विद्युत्मन्त्री खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण–३ जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरे ।
आयोजनाको ‘युनिट–२’को संयुक्त रुपमा उद्घाटनसँगै पावर हाउस नजिक वृक्षारोपणसमेत गरेका थिए । अवलोकनका क्रममा मन्त्रीद्वयले ठेकेदार कम्पनीसँग अहिलेसम्मको आयोजनाको प्रगति र आयोजना निर्माणका क्रममा देखिएको समस्याको बारेमा जानकारी लिएका थिए ।
भारतका विद्युत्मन्त्री खट्टरले नेपाल जलविद्युत्को क्षेत्रमा अपार सम्भावना भएको मुलुक भएकाले उर्जा क्षेत्रबाटै समृद्धि हाँसिल गर्न सकिने बताएका थिए । २०७५ वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गरेको अरुण–३ जलविद्युत् आयोजना एक खर्ब चार अर्ब लागतमा निर्माण सम्पन्न हुनेछ । आयोजना निर्माणको ठेक्का भारतीय सतलज हाईड्रोपावर कम्पनीले पाएको छ । खट्टरले मंगलबार साँझ नै पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए ।
ऊर्जामन्त्री खड्का र भारतका विद्युत्मन्त्री खट्टरको उपस्थितिमा ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोदोधरा–बरेली अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रीड लिमिटेड भारतका निर्देशक यतिन्द्र द्विवेदीले हस्ताक्षर गरेका छन् ।
समझदारी अघि ऊर्जामन्त्री खड्का र विद्युत्मन्त्री खट्टरको टोलीबीच औपचारिक वार्ता भएको थियो । वार्तामा अन्तरदेशीय प्रसारणलाइन निर्माणका समझदारी र अरुण–३ जलविद्युत् आयोजनामा देखिएका विभिन्न समस्याबारे छलफल गरिएको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दिप देवले बताए ।
भारतका विद्युत्मन्त्री खट्टरले बुधबार बिहानै मुक्तिनाथ मन्दिरको समेत दर्शन गरेका थिए । त्यसपछि नेपालस्थित भारतीय दूतावासमा ऊर्जा सचिव, पूर्वऊर्जामन्त्री, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल–भारत चेम्बर अफ कमर्सका प्रतिनिधिहरुसँग भेटघाट गरेका थिए ।
भारतका विद्युत्मन्त्री खट्टरले बुधबार नै प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री सिंहसँग भेटघाट गरेका छन् । भेटमा दुई देशको हित, पारस्परिक सम्बन्ध र सहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको सहरी मन्त्रालयले जनाएको छ ।
‘भारतले सहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहोर मैला व्यवस्थापन र सहरी यातायातमा हासिल गरेको उपलब्धिको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यिनै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको छ,’ भेटपछि सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले भने ।
नेपाल र भारत सरकारबीच सहरीकरणका अनुभव आदाप्रदान र सहायता परिचालनका लागि समझदारीपत्र (एमओयू) तयार भइरहेको र त्यसमा छिट्टै सहमति भएपछि सहरी विकासको क्षेत्रमा दुई देशबीच औपचारिक सहकार्य अघि बढ्ने खट्टरले बताएका छन् ।
भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारणलाइनअन्तर्गतका तीन वर्टा सबस्टेसनसमेत एकैपटक उद्घाटन गर्ने तयारी रहेको ऊर्जामन्त्री खड्काको सचिवालयले जनाएको थियो । खड्काका सचिवालयका अनुसार ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेशन, २२०/३३ केभी बानेश्वर सबस्टेशन र २२०/१३३/३३ केभी बसन्तपुर सबस्टेशनको संयुक्त रुपमा संखुवासभाको तुम्लिङटार सबस्टेशनबाट उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएका थिए । तर भारतका विद्युत्मन्त्री खट्टरको औपचारिक भ्रमणको तालिकामा सूचीमा कोशी करिडोरको सबस्टेसन उद्घाटन गर्ने विषय नरहेकाले उद्घाटन नगरिएको मन्त्रालय स्रोतले जनायो ।
