डेटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा एनसेल सूचीकृत

वैशाख ९, २०८२

कान्तिपुर संवाददाता

Ncell listed as a data center and cloud service provider

काठमाडौँ — डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकका रूपमा एनसेल सूचीकृत भएको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डेटा सेन्टर सेवा प्रदायक र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत गरेको हो । विभागले हालै मात्र सूचना प्रकाशन गर्दै डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका २०८१ बमोजिम सूचीकृत हुन सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो । 

विभागमा दर्ता हुने एनसेल पहिलो डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायक हो । विभागले कम्पनीको प्रत्यक्ष निरीक्षण तथा कम्पनीबाट पेस भएको निवेदन तथा कागजात अध्ययन गरी कम्पनीले तोकेको सञ्चालन मापढण्ड तथा सुरक्षा अनुशरण गरेको देखिएकोले कम्पनीलाई सुचिकृत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निर्देशिकाअनुसार हाल सञ्चालनमा रहेका डेटा सेन्टर र क्लाउड सेवा प्रदायकले ६ महिनाभित्रै विभागमा सूचीकृत भइसक्नुपर्ने प्रावधान छ । सो निर्देशिका सञ्चार तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङको मन्त्रीस्तरिय निर्णयबाट स्वीकृत भएपछि कार्यान्वयनमा आएको थियो । एनसेलले तोकिएको अवधिभन्दा पहिला नै सुचिकृत भएको हो । 

निर्देशिकाले सेवा प्रदायकहरूको लागि सुरक्षा, गोपनीयता र पूर्वाधार लगायतका महत्वपूर्ण क्षेत्रहरूमा नियमहरू निर्धारण गरेको छ । डेटा सेन्टर र क्लाउड सेवा सञ्चालनका लागि छुट्टाछुट्टै सूचीकृत हुनुपर्ने निर्देशिकाको व्यवस्था बमोजिम एनसेलले आफूलाई यी दुवै सेवाका लागि छुट्टाछुट्टै सुचिकरण गराएको जनाएको छ  ।  

हाल एनसेलको ललितपुर, नख्खुमा बैंक, सरकारी निकाय र ठूला व्यावसायिक संस्थाले प्रयोग गर्न मिल्ने अत्याधुनिक टियर थ्री डेटा सेन्टर सञ्चालनमा रहेको छ । पोखरा र हेटौँडामा एनसेलका डिजास्टर रिकभरी डेटा सेन्टर सञ्चालनमा छन् । 'हामीले साइबर सुरक्षा, डेटा गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय मापदण्डहरू अनुसार काम गर्दै आएकोले सुचिकरणको प्रक्रिया सहज भएको हो,'  एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले भनेका छन्, 'सुचिकृत भई सरकारबाट मान्यता प्राप्त गर्ने एनसेल पहिलो र एकमात्र कम्पनी बनेकोमा हामी खुसी छौं ।' 

सूचीकृत गर्ने प्रक्रियाका क्रममा विभागले आगलागी सुरक्षाको सुनिश्चितता, संस्थाको सुरक्षा र गोपनीयता नीति, बिजनेस कन्टिन्युटी प्लान, डेटा सेन्टरको टियर, आईपी पुल लगायतका कागजात तथा विवरण अध्ययन गरेको थियो । सरकारले सूचना प्रविधि प्रणालीलाई भरपर्दो, सुरक्षित एवं प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशिका जारी गरेको थियो । डेटा सेन्टर र क्लाउड सेवा प्रदायकको सूचीकरणले यस क्षेत्रको नियमन, पारदर्शिता र साइबर सुरक्षालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । 

कान्तिपुर

Link copied successfully