काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रुग्ण आयोजनाहरुको समस्या समाधानमा ढिलाइ नगर्न मन्त्रालय मातहतका विभाग र आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
रुग्ण तथा अलपत्र अवस्थामा रहेका आयोजनाको विश्लेषण र समाधानका उपाय कार्यान्वयनतर्फ लाग्न पनि उनले जोड दिए ।
सोमबार मन्त्रालयमा भएको छलफलमा मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सहसचिवहरु, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख तथा विभिन्न आयोजना प्रमुख सहभागी थिए ।
‘रुग्ण आयोजनाको पहिचानदेखि समस्या समाधानसम्मका काममा ढिलाइ हुनुभएन,' मन्त्री दाहालले छलफलमा भने, 'यसलाई प्राथमिकतामा राखेर काम अघि बढाउनुहोला ।’ तोकिएको समयमा काम नहुने, सुस्त हुने तथा पटकपटक हुने म्याद थपले विकास निर्माण प्रक्रियामा ढिलाइ भइरहेको भन्दै उनले कार्यक्षेत्रमा देखिने गरी परिणाम ल्याउन पनि कार्यालय प्रमुख तथा आयोजना प्रमुखहरुलाई निर्देशन दिए ।
‘कहिले कुन कानुन, नियम वा नियमावली आउँछ भनेर नपर्खनुस्,’ मन्त्री दाहालको भनाइ थियो, ‘अहिले विद्यमान कानुनी व्यवस्था जे छ त्यहीअनुसार अघि बढ्नुस्, अब पनि ढिलाइ गर्ने बेला छैन ।'
मन्त्रालयका सचिव केशवकुमार शर्माले रुग्ण आयोजनाबारे मसिनो गरी अध्ययन गरिएको भन्दै आयोजनागत रुपमा समाधानतर्फ मन्त्रालय केन्द्रित रहेको बताए । यस्तै, सडक विभागका महानिर्देशक रामहरि पोखरेलले कानुनी व्यवस्थाअनुसार रुग्ण आयोजनाका बारेमा समस्या समाधान गर्न प्रत्येक कार्यालयले काम अघि बढाएको बताए ।
