चितवन — सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चारतारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ ।
सिद्धार्थ बाटिका ब्रान्डमा सञ्चालन भइरहेको रिसोर्टलाई स्तरोन्नति गरी सिद्धार्थ वैभव ब्रान्डमा सञ्चालनको तयारी भइरहेको सिद्धार्थ हस्पिटालिटीका बोर्ड सदस्य तथा उक्त क्षेत्रका क्लस्टर म्यानेजर किरण रिमालले जानकारी दिए । 'रिसोर्ट स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ, यसै वर्षको असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ,' उनले भने । रिमालका अनुसार स्तरोन्नतिपछि होटल चारतारे स्तरको हुनेछ ।
हाल कायम २६ वटा रुम र ५६ वटा बेडबाट ६४ वटा रुम र ९९ बेड संख्या पुग्नेछ । साथै आउटडोर र इनडोर ज्याकुजीसहितको प्रेसिडेन्ट रुमको पनि सुविधा थप हुने उनको भनाइ छ । 'स्तरोन्नतिपछि ४२५ स्क्वायर फिटको ग्रान्ड डिलक्स रुम पनि निर्माण हुनेछ, जसमा बाथटब लगायतको सुविधा हुनेछ,' उनले भने, 'बालबालिकाका लागि पानीसँग सम्बन्धित खेलका लागि विभिन्न पूर्वाधार निर्माण भइरहेको छ भने मिनी फुटसल मैदान पनि बनिरहेको छ ।'
त्यसबाहेक नेपाली खाना र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यसहित ८० जना अट्ने क्षमताको त्रिशूली नदीको सुन्दर दृश्य अवलोकन र नदीको वाटर म्युजिकको मजा लिई शान्त वातावरणको डेक रेस्टुरेन्ट पनि सञ्चालन हुने उनले बताए । हाल रिसोर्टमा सयजना क्षमताको सभाहल रहेकामा तीन सयजना क्षमताको सभाहल पनि थप हुने उनले जानकारी दिए ।
रिमालका अनुसार स्तरोन्नतिपछि सयजना अट्ने अल डे डाइनिङ हुनेछ भने सुन्दर फराकिलो बगैंचा, स्वीमिङ पुल, छुट्टै खेल मैदान, रिसोर्टभित्रै ग्रोसरी पसल र प्रत्येक शुक्रबार गुरुङ र मगर संस्कृतिको प्रवर्द्धन हुने गरी सांस्कृतिक नृत्यको पनि मजा लिन पाइनेछ । रिमालले पोखरा र बन्दीपुर लगायतका पर्यटकीय गन्तव्यमा बढ्दो पर्यटक, कर्पोरेट कार्यक्रम लगायतलाई लक्षित गरी स्तरोन्नति सुरु गरिएको बताए । यस राजमार्ग हुँदै यात्रा गर्ने ग्राहकका लागि छुट्टै रेस्टुरेन्ट र विद्युतीय गाडी प्रयोगकर्ताका लागि चार्जिङको पनि सुविधा रहेको छ । रिसोर्टमा हाल ६० जनाले रोजगारी पाइरहेका छन् भने स्तरोन्नतिपछि ८५ जनाले रोजगारी पाउने उनले बताए ।
सुपर त्रिशूली जलविद्युत् आयोजनाको पनि बाँध रिसोर्ट नजिकै बन्ने भएकाले त्यसपछि यहाँको पर्यटन विकासमा सहयोग पुग्ने संस्थाले विश्वास लिएको रिमालले बताए । 'रिसोर्ट स्तरोन्नतिपछि पोखरा, मनकामना मन्दिर र बन्दीपुर जाने पर्यटकलाई लक्षित गरी प्याकेज निर्माण गरिनेछ, यसले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ,' उनले भने ।
सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्रान्डमा मुलुकभर ३० भन्दा बढी आउटलेट सञ्चालनमा छन् । जसमा पाँचतारे स्तरमा सिद्धार्थ भिलासा, चारतारे स्तरमा सिद्धार्थ वैभव, तीनतारे स्तरमा सिद्धार्थ बाटिकाका साथै सिद्धार्थ कटेज, एसक्याफे ब्रान्डलगायत सञ्चालनमा छन् ।
