पर्सा — ३ लाख रुपैयाँ राजस्व छलीको प्रयास गर्दा कारबाहीमा परेको वीरगन्जस्थित आरएन इन्टरप्राइजेजले ७० लाख रुपैयाँ जरिवाना तिरेको छ । भारतबाट जिरा आयात गरेको उक्त फर्मले कम परिमाण घोषणा गरी भन्सार राजस्व छल्ने प्रयास गरेको पाइएपछि वीरगन्ज भन्सार कार्यालयले जरिवाना तिराएको हो ।
वीरगन्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेका अनुसार उक्त फर्मले वैशाख ३ गते भारतबाट जिरा आयात गर्दा दुई वटा प्रज्ञापन पत्र पेस गरेको थियो । तीमध्ये एउटा प्रज्ञापन पत्रमा उल्लेख गरिएको तीन सय बोरामा रहेको ९ हजार किलो जिराको परिमाण सही देखिए पनि दोस्रो प्रज्ञापन पत्रमा भने घोषित परिमाणभन्दा बढी जिरा भेटिएको हो ।
आयातकर्ता कम्पनीले दोस्रो प्रज्ञापन पत्रमा ५ सय ४० बोरा घोषणा गरे पनि जाँचका क्रममा गाडीमा सात सय बोरा जिरा फेला परेको थियो । घोषित परिमाणभन्दा १ सय ४० बोरा अर्थात् ४ हजार २ सय किलो बढी जिरा भेटिएपछि कारबाही गरिएको लामिछानेले बताए ।
जाँच पास गराएर एकीकृत सुरक्षा जाँच चौकी परिसरबाट बाहिरिने क्रममा जिरा बोकेको उक्त ट्रकलाई ‘रि टेक’ गरिएको उनले बताए । ‘हामी नियमित रुपमा यसरी जाँच पास भएर जान लागेका वस्तुको पनि रिटेक गरिरहन्छौं,’ उनले भने, ‘यस क्रममा शंका लागि जिरा बोकेको ट्रकलाई पनि रिटेक गरका हौं, परीक्षणको क्रममा घोषितभन्दा जिराको परिमाण बढी देखिएपछि जरिवाना गरेका हौं ।’
फर्मले ७० लाख रुपैयाँ जरिवाना बुझाएर आइतबार साँझ आफ्नो सामान लगिसकेको लामिछानेले बताए ।
भन्सारले आयात निर्यात प्रक्रिया सहज बनाउन रातो, पहेँलो र हरियो लेन प्रणाली अवलम्बन गर्दै आएको छ । हरियो लेनबाट जाँच पास गर्दा भन्सार अधिकृतले सामान तथा कागजात केही जाँच नगरी महसुल लिएर मात्र सामानको निष्कासन गर्छ । पहेँलो लेनबाट जाँच पास गर्दा कागजात अध्ययन गरी महसुल लिएर सामान छाड्छ भने रातो लेनमा परेको मालवस्तुको सम्पूर्ण सामानको जाँच गरेर मात्र महसुल लिई छाड्ने गर्छ ।
