महाराजगन्ज–चप्पल कारखाना खण्डमा सडक विस्तारको काम २० प्रतिशत सकियो

वैशाख ८, २०८२

विमल खतिवडा

20% completion of road expansion in Maharajganj-Chappal factory section

काठमाडौँ — चक्रपथ विस्तार अन्तर्गत नारायण गोपालचोकबाट चप्पल कारखाना खण्डको विस्तारको काम २० प्रतिशत सकिएको छ । चीन सरकारको अनुदानमा बनाउने भनिएपनि कलंकी–बसुन्धरा खण्डमा ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा यस खण्डको विस्तार थालेको हो ।

चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट विनियोजन भएकाले त्यही अनुसार सात सय मिटर दूरीमा ठेक्का गरेर काम अघि बढाइएको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले बताए । ‘महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण पुल) सम्म नै विस्तार गर्ने भनेर काम थालिएको हो,’ उनले भने, ‘पहिलो चरणमा उपलब्ध बजेट अनुसार सातसय मिटर दूरीमा ठेक्का गरेर काम गरिएको छ ।’

छिटो प्रक्रियाबाट ठेक्का गरेर काम अघि बढाइएको उनले सुनाए । ‘चीन सरकारबाट कोटेश्वर–कलंकी सडक जसरी विस्तार गरिएको छ, त्यही स्ट्यान्डर्डमा यो खण्ड बनाइने छ,’ उनले भने, ‘जहाँ सर्भिस लेनसहित १० लेनको सडक बन्ने छ ।’ अहिले नाली बनाउने, आरसीसी वाल निर्माण, कर्ल्भट, टेवा पर्खाल लगाउने काम भइरहेको उनले बताए । नारायणगोपाल चोकबाट गोपिकृष्ण पुलसम्म २.४ किलोमिटर छ । उक्त खण्डमा आगामी आवमा ठेक्का गरेर काम अघि बढाइने सडक डिभिजन काठमाडौंले जनायो ।

विस्तारका लागि १ अर्बभन्दा बढी लाग्ने छ । ‘आगामी वर्ष बजेट छुट्याएर यसको काम नियमित रुपमा अगाडि बढाइँदै लगिने छ,’ उनले भने, ‘हामी नेपालीहरु पनि चिनियाँले जसरी काम गर्न सक्छौं, त्यही अनुसार काम गरिरहेका छौं ।’

अहिले ७ सय मिटरमा सडक विस्तारको ठेक्का अम्बुजा/एसके/काली जेभीले लिएको हो । यसको असोजमा ठेक्का आह्वान गरेर निर्माण प्रक्रिया अघि बढाइएको थियो । जसअनुसार असारभित्र उक्त खण्डको काम सक्नुपर्ने छ । डिभिजन सडक कार्यालयले नै यसको डिजाइन गरेर काम अघि बढाएको हो ।   

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully