भैरहवा — रूपन्देहीको भैरहवामा स्वदेशी र बाह्य पर्यटक लक्षित गरेर पाँचतारे स्तरको बुद्ध रिजेन्सी प्रालि होटल सञ्चालनमा आएको छ । नयाँ वर्षबाट सेवा सुरु गरेको होटलमा करिब दुई अर्ब हाराहारी लगानी भएको सञ्चालकले जानकारी दिएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सामुन्ने ठूलो लगानीमा अन्तर्राष्ट्रिय स्तरको होटल सञ्चालनमा आएको हो ।
सिद्धार्थनगर नगरपालिका–४ मा एक बिघा क्षेत्रफलमा निर्माण भएको होटलले गत वैशाख १ गतेबाट सेवा दिन थालेको होटलका जनरल म्यानेजर (जीएम) वसन्तराज पुरीले जनाए । उनका अनुसार व्यवसायी नरेन्द्रप्रसाद गुप्ता, सुनील अग्रवाल र पवन सरावगीले होटलमा लगानी गरेका हुन् । ‘भैरहवा–लुम्बिनी सडकसँगै रहेकाले होटलमा सबैको आँखा पर्ने रहेछ,’ जीएम पुरीले भने, ‘सञ्चालनको पहिलो महिनामै होटलको बुकिङ उत्साहप्रद देखिएको छ ।’
उनका अनुसार अहिले होटलमा १ सय ५ कोठा रहेका छन् । यीमध्ये एउटा प्रेसिडेन्सियल स्वीट, तीनवटा स्वीट, पाँचवटा परिवार लक्षित इन्टरकनेक्टेड कोठा छन् । बाँकी ९६ वटा कोठा डिलक्स सुविधायुक्त रहेको जीएम पुरीले बताए । ‘होटलको छतमा स्विमिङ पुल रहेको छ,’ उनले भने, ‘यसका साथै छतमा ८० जना अट्ने सभा हल र ७० जना अट्ने क्षमताको लाउन्ज पनि तयार छ ।’ त्यस्तै बार्दलीमा ५० जना अट्ने रेस्टुरेन्ट रहेको उनले बताए ।
होटलको भुइँ तलामा आकर्षक लबीसँगै तीन सय जनाभन्दा बढी अट्ने क्षमताको बैंक्वेट हल रहेको छ । त्यस्तै पहिलो तलामा दुई वटा कन्फ्रेन्स हलसँगै १ सय ३० जना अट्ने रेस्टुरेन्ट र बार रहेको छ । उक्त होटलकाे आर्थिक साझेदार एसबीआई बैंक रहेको सञ्चालकले बताए ।
निकट भविष्यमा क्यासिनो सञ्चालनका लागि विभिन्न मुलुकका विदेशी कम्पनीसित छलफल भइरहेको जीएम पुरीले जनाए । ‘बुद्ध सर्किटमा आउने विदेशी पर्यटक लक्षित गरेर प्याकेज तयार गरिरहेका छौं,’ उनले भने, ‘स्वदेशी पर्यटक र कर्पोरेट ग्रुपलाई पनि आकर्षित गर्ने लक्ष्य हो ।’
अहिले यहाँ आउने पर्यटकका लागि ५ हजार भारतीय रुपैयाँमा कोठा उपलब्ध गराइरहेको होटल व्यवस्थापनले जनाएको छ । यस वर्षको बुद्ध जयन्ती लक्षित गरेर यहाँका होटल बुक गर्ने क्रम सुरु भइसकेको छ । यस क्रममा यस होटलमा पनि धमाधम बुकिङ भइरहेको छ ।
अहिले होटलमा सरदर ५० प्रतिशत अकुपेन्सी रहेको पुरीले बताए । सञ्चालकले पाँचतारे स्तरको होटलका लागि अनुमति लिने तयारी भइरहेको जनाए । अहिले यसको व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय होटल चेन कम्पनी रमाडा इन्टरनेसनलसित कुराकानी भइरहेको छ । रूपन्देहीमा अहिले पाँचतारे स्तरका टाइगर प्यालेस बाई सोल्टी, सिद्धार्थ भिलासा र पवन प्यालेस सञ्चालनमा छन् ।
