पर्सा — साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको युरिया मल वीरगन्ज नाकामा आइपुगेको छ । २ हजार ५ सय टन युरिया बोकेर कोलकाता बन्दरगाहबाट हिँडेको एउटा रेल्वे र्याक आइतबार बिहान वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेसन आइपुगेको हो ।
साल्ट ट्रेडिङले ग्लोबल टेन्डरबाट ३० हजार टन युरिया मल आयात गर्न लागेकामा सोही कन्साइन्मेन्टको पहिलो र्याक आइपुगेको हो । साल्ट ट्रेडिङ प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछानेले सन इन्टरनेसनल कम्पनी आपूर्तिकर्ता रहेको यो कन्साइन्मेन्टअन्तर्गत थप २ हजार ५ सय टन युरिया बोकेको अर्को रेल्वे र्याक भारतीय रेलमार्गमै रहेको बताए । उक्त रेल पनि एकदुई दिनभित्र आइपुग्नेछ ।
आपूर्तिकर्ता सन इन्टरनेसनलले चीनबाट उक्त मल ल्याएको हो । कुल ३० हजार टनमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले १० हजार ५ सय, भैरहवा प्रादेशिक कार्यालयले ९ हजार ५ सय र विराटनर प्रादेशिक कार्यालयले ८ हजार ५ सय टन मल पाउनेछन् ।
वीरगन्जको मल रक्सौल तथा सिर्सिया सुक्खा बन्दरगाहमा आउनेछ । भैरहवा र विराटनगरको केही मल सोझै कोलकाता बन्दरगाहबाट ती कार्यालय नजिकका भारतीय नाका हुँदै पुग्नेछन् । केही मल भने वीरगन्ज नै आउने छन् । वीरगन्जबाट ढुवानी गरी भैरहवा र विराटनगर लगिनेछ ।
भित्रिन लागेको युरिया मल चैते धान बालीका लागि उपयोगी हुने लामिछानेले बताए । चैते धानका लागि हाल युरिया मलको माग रहेकाले माग भएका जिल्लामा कोटा प्राप्त भएलगत्तै पठाइने उनको भनाइ छ ।
