प्रहरी सुरक्षामै भइरहेछ नागढुंगा सुरुङको काम

वार्ताका लागि पटक–पटक बोलाउादा पनि स्थानीय नआएपछि आयोजनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रहरी सुरक्षामा रोकिएको काम पुनः अघि बढाएको हो

वैशाख ६, २०८२

विमल खतिवडा

Nagadhunga tunnel work is going on under police protection

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा एक सातादेखि प्रहरी सुरक्षामै काम भइरहेको छ । काठमाडौं र धादिङ दुवैतर्फ ८० जनाभन्दा बढी सशस्त्र र नेपाल प्रहरी परिचालन गरेर काम गराइएको हो । धादिङतर्फ सुरुङको मुखैअघि पहिरो रोकथामको काम भइरहेको छ । सुरुङभित्र भने लाइटिङ, फायरफाइटिङ, भेन्टिलेसन र कंक्रिट सडक निर्माणको काम भइरहेको छ ।

बलम्बुस्थित किसिपिडी क्षेत्रमा पनि प्रहरी परिचालन गरेर फ्लाइओभर निर्माणको काम गरिएको छ । 

निर्माणको काम अन्तिम चरणमा रहेका बेला चन्द्रागिरि नगरपालिका–२ स्थित टुटीपाखाका स्थानीयले आफूहरूका माग आयोजनाले पूरा नगरेको भन्दै गत चैत ३ देखि ३० सम्म काम ठप्प पारेका थिए । वार्ताका लागि पटक–पटक बोलाउँदा पनि नआएपछि आयोजनाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत प्रहरी सुरक्षामा रोकिएको काम पुनः थालेको हो । प्रहरी सुरक्षामा बाँकी रहेका काम धमाधम भइरहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । 

स्थानीय बिहानै आएर सुरुङ निर्माणस्थलअगाडि नाराबाजी गरेर जाने गरेको आयोजनाले जनाएको छ । ‘अहिले प्रहरीकै सुरक्षामा काम भइरहेको छ,’ पन्थीले भने, ‘निर्माणस्थलमा ३ सयभन्दा बढी कामदार परिचालन गरिएको छ ।’ चर्किएका घरहरूबारे मन्त्रिपरिषद्बाट निर्णय भएर क्षतिपूर्ति दिने विषय प्रक्रियामा रहेको उनले सुनाए । अहिलेसम्म सुरुङ निर्माणको प्रगति ८८ प्रतिशत रहेको आयोजनाले जनायो । 

‘आयोजना सकिने चरणमा पुगेका बेला महिना दिनसम्म काम ठप्प बन्यो,’ पन्थीले भने, ‘जसले गर्दा निर्माणमा केही ढिलाइ भएको छ ।’ अहिले कामको गति बढाइएको उनको भनाइ छ । सडक विभाग स्रोतका अनुसार स्थानीयलाई बोलाएर वार्ताबाट समस्या समाधानको पहल भइरहेको छ । ‘वार्ताबाट समस्या समाधान गर्ने इच्छा स्थानीयलाई भए हामी तयार छौं,’ विभागका एक उच्च तहका कर्मचारीले भने, ‘अहिले राखिएका धेरै माग पूरा गरिसकिएको छ, केही पूरा हुने प्रक्रियामा छन् ।’ 

सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्थानीयको हकहितका लागि उनीहरूले राखेका माग अगाडि बढाइरहेको ती कर्मचारीले बताए । ‘त्यसैले विश्वास गरेर स्थानीय वार्तामा आउने भए सडक विभाग सधैं तयार छ,’ उनले भने । निर्धारित समयमै आयोजना सक्ने गरी काम भइरहेको ती कर्मचारीको दाबी छ । 

पहिलो सवारी गुड्ने सुरुङमार्ग भनेर प्रचार गरिए पनि तत्काल आइपरेका समस्या समाधान गरी छिटो निर्माणको काम सक्न भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्काल पहल गर्ने गरेको छैन । यसअघि पनि पटक–पटक स्थानीयले निर्माणमा अवरोध गरेपछि समयमै काम थाल्ने वातावरण सरकारी निकायबाट बनेन । 

पूरा भइसकेका माग व्यवस्थित गर्नुपर्ने अडानमा स्थानीय छन् । आयोजना सम्पन्न भएपछि पनि निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने पहिलो मागका रूपमा स्थानीयले अघि सारेका छन् । सुरुङमार्गका कारण चर्किएका घरको उचित क्षतिपूर्ति दिनुपर्ने, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राख्दै स्थानीयले काममा अवरोध गरेका हुन् । ‘यी माग केही पूरा भएका छन्, केही पूरा हुने क्रममा छन्,’ सडक विभागका एक इन्जिनियरले भने । 

२०८२ असोजभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहे पनि बेला–बेलामा स्थानीयबाट हुने अवरोधले समस्या थपिएको आयोजनाले जनाएको छ । नागढुंगा सडक खण्ड भएर दिनहुँ १० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । तर २०७६ कात्तिक ४ मा निर्माण सुरु भएको सुरुङमार्ग ४२ महिनाभित्र सक्नुपर्ने थियो । तर ६५ महिना बित्दा पनि सकिएको छैन ।

सुरुमा कोभिड र पछि स्थानीयको अवरोधका कारण आयोजना सम्पन्न गर्न ढिला भएको दाबी आयोजनाको छ । मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully