मुग्लिन-मलेखु सडक विस्तारमा २८ महिनामा २६ प्रतिशत प्रगति

असारसम्म ४५ देखि ४८ प्रतिशत हाराहारी काम सक्ने लक्ष्यमा आयोजना 

वैशाख ६, २०८२

रमेशकुमार पौडेल

26 percent progress in Muglin-Malekhu road extension in 28 months

चितवन — सम्झौताअनुसार आठ महिनापछि आउँदो डिसेम्बर २९ अर्थात् पुस १४ भित्रै नागढुंगा–मुग्लिन सडक योजनाअन्तर्गत पश्चिम खण्ड विस्तारको काम पूरा हुनुपर्नेछ । मलेखुदेखि मुग्लिनको ३९ किलोमिटर सडक विस्तारको काम ३६ महिनाभित्र सक्ने गरेर सन् २०२२ डिसेम्बर ३० मा सम्झौता भएको थियो । तर ठेक्काको म्याद सकिन साढे ७ महिनामात्रै बाँकी रहँदा २६ प्रतिशत काम मात्रै भएको छ । 

अहिलेसम्म २६ प्रतिशत हाराहारी काम भएको नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी रहेका इन्जिनियर सचेन्द्र मिश्रले पुष्टि गरे । ‘पछिल्लो समय कामको रफ्तार बढेको हुँदा असारसम्म ४५ देखि ४८ प्रतिशत हाराहारी काम सक्ने लक्ष्यमा छौं,’ उनले भने । काम भइरहँदा सोही सडकबाट दिनहुँ गुड्ने गाडीको व्यवस्थापनबाहेक हाललाई अन्य कुनै ठूला समस्या नरहेको उनले बताए ।

नारायणगढबाट जाँदा मुग्लिन कटेलगत्तै आयोजनाबारे जानकारी दिन राखेको सूचना बोर्ड छ । सडकको दुरवस्था जस्तै उक्त सूचना बोर्ड पनि ढलेको छ । उक्त ठाउँबाट अगाडि बढ्दै जाँदा सडक विस्तारको काम भएको कुनै छनक पाइँदैन । दुई किलोमिटर दूरी पार गरेपछि काम हुँदै गरेझैं लाग्ने पहाड काटेको दृश्य देखा पर्न सुरु हुन्छ । केबलकार स्टेसनबाट अगाडि बढेपछि बल्ल सडक विस्तारको चहलपहल देखिन्छ ।

शक्तिखोर–काठमाडौं रुटमा ११ वर्षदेखि माइक्रोबस चलाउँदै आएका चालक विनोद आचार्य सडकको यो अवस्थाले दिक्क छन् । ‘बर्खामा ठूलो सास्ती हुन्छ । नारायणगढ–मुग्लिन सडकमा पनि उस्तै कष्ट छ । बर्खायामपछि पहिला साढे तीनदेखि चार घण्टामा नारायणगढदेखि काठमाडौं आरामले पुगिन्थ्यो । अहिले कम्तीमा पाँच घण्टा लाग्छ,’ उनले भने । 

बाटोमा धूलो र खाल्डो हुँदा यात्रुलाई साह्रै गाह्रो हुने गरेको आचार्यले सुनाए । ‘अहिले भत्काएको ठाउँ बनाउँदै ल्याएको देख्छु । तर राजधानी छिर्ने यस्तो मुख्य सडक बनाउन थालेको लामो समय भयो, काममा साह्रै ढिलासुस्ती भएझैं लाग्छ,’ आचार्यले भने । सडक विस्तारसँगै यो खण्डमा ६ वटा पुल पनि बन्दै छन् । चारवटा पुलको काम असारभित्रै सकिने इन्जिनियर मिश्रले जनाए । 

दुईवटा पुलको पनि पिलर उठाउने काम सकिएको मिश्रको भनाइ छ । नागढुंगादेखि मुग्लिनसम्मको सडकलाई तीन खण्ड बनाएर विस्तारको काम भइरहेको छ । बाँकी दुई खण्डमा पनि काम सकिएको छैन । पश्चिम खण्डमा पर्ने मलेखुदेखि मुग्लिनसम्म ३९ मध्ये लगभग दुई किलोमिटर सडक ६ लेनको हुनेछ । बेनीघाट, मलेखु र मुग्लिन बजार क्षेत्रको सडक ६ लेनको हुने इन्जिनियर मिश्रले बताए । यी तीन बजारबाहेक बाँकी क्षेत्रमा लगभग सात किलोमिटर सडक चार लेनको हुनेछ । अन्य क्षेत्रको सडक सुविधाजनक दुई लेनको हुने सूचना अधिकारी इन्जिनियर मिश्रले जनाए । 

यस सडकमा हालसम्म विभिन्न ठाउँमा गरेर साढे चार किलोमिटर हाराहारीमा एक तहको कालोपत्र भएको छ । त्यस्तै पहिलो बेसको काम साढे दुई किलोमिटरमा सकिएको इन्जिनियर मिश्रको भनाइ छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully