गुणाकर भट्ट गभर्नर बन्ने निश्चित

कार्यकारी निर्देशकबाट दिए राजीनामा

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

Gunakar Bhatt is sure to become the governor

काठमाडौँ — गुणाकर भट्ट नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने पक्का भएको छ । राजनीतिक तहमा गभर्नर बनाउने सहमति भएसँगै भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् । उनले राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनालाई राजीनामा बुझाएका हुन् । 

'राजनीतिक नेतृत्वबाट गभर्नर बन्न प्रस्ताव आएपछि मैले राजीनामा दिएको हुँ,' भट्टले भने । नयाँ गभर्नर नियुक्तिलाई लिएर कांग्रेस-एमाले आ-आफ्नो अडानमा रहे पनि अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भट्टको नाममा सहमति भएको हो ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ओली र देउवाबीच नयाँ गभर्नरका बारेमा सहमति भइसकेको बताएका थिए ।  मन्त्रिपरिषद्को आगामी बैठकले भट्टलाई गभर्नर नियुक्त गर्नेछ । 

राष्ट्र बैंक ऐनअनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्छ । तर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदासमेत नयाँ गभर्नर नियुक्तिमा ढिला भएपछि सरकारले डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई कामु गभर्नरको जिम्मा दिएको थियो ।

मन्त्रिपरिषद्ले चैत ११ मा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य छन् । समिति गठन भए पनि उच्च राजनीतिक तहमा सहमति भएअनुसार नै नयाँ गभर्नर नियुक्ति हुनेछन् । 

गभर्नर बन्न कस्तो चाहिन्छ योग्यता ?

राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

कान्तिपुर

Link copied successfully