९ दिनमै सुन तोलामा १७ हजारले बढ्यो
काठमाडौँ — वैशाखसँगै बिहेको लगन सुरु भएको छ । विगतमा लगनका बेला गहना पसलमा सर्वसाधारण भीड हुन्थ्यो । तर यसपालि गहना पसल सुनसान छन् । केहीमा भीड देखिए पनि खरिदभन्दा बिक्री गर्न आउनेहरू रहेको व्यवसायी बताउँछन् । यसको एउटै कारण हो, सुनको मूल्यमा दिनहुँ भइरहेको कीर्तिमान ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको आर्थिक र राजनीतिक उथलपुथलले पछिल्लो समय सुनको मूल्यले नयाँ–नयाँ कीर्तिमान बनाइरहेको छ । सुरक्षित लगानी मानिने सुनमा लगानी बढेपछि अन्तर्राष्ट्रिय बजारमा यसको मूल्यले कीर्तिमान बनाइरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको छ । ९ दिनयता अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य ३ सय ४० अमेरिकी डलरले बढेको छ । नेपाली बजारमा पनि तोलामै १७ हजार २ सय रुपैयाँले मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यति बेला गहना बेच्न आउने मान्छे बढी रहेको गहना व्यवसायी तेजरत्न शाक्यले बताए । गत चैत २६ मा महासंघले मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔंस मूल्य ३ हजार डलर थियो । नेपाली बजारमा प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । त्यसपछि निरन्तरजसो मूल्यले कीर्तिमान बनाइरहेको छ । चैत ३१ सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँसम्म पुग्यो । २०८२ वैशाख १ मा सार्वजनिक बिदा भएकाले महासंघले २०८१ चैत ३१ कै मूल्य तोक्यो । त्यसपछि पनि मूल्य बढ्दो क्रममा छ । वैशाख लागेपछि मूल्यले कीर्तिमान बनाइरहेको छ । महासंघले मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ८४ हजार ३ सय रुपैयाँ तोक्यो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार २ सय २८ डलरमा कारोबार भएको थियो ।
सुनको मूल्य बुधबार बढेर फेरि कीर्तिमान बन्यो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार २ सय ७९ अमेरिकी डलरमा कारोबार भयो । नेपाली बजारमा प्रतितोला १ लाख ८७ हजार रुपैयाँ पुग्यो । बिहीबार मूल्यले कीर्तिमान नै कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३ हजार ३ सय ४० डलर हुँदा नेपाली बजारमा प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ । महासंघले तोकेको मूल्यका आधारमा उपभोक्ता मूल्य झन् बढी छ । किनभने उनीहरूले गहनाको डिजाइनअनुसार १२ देखि १८ प्रतिशत जोडेर उपभोक्ता मूल्य निर्धारण गर्दै आएका छन् ।
पछिल्लो समय गहना बिक्री नभएको महासंघका वरिष्ठ उपाध्यक्ष दियश शाक्यले जनाए । ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति र अमेरिका–चीनबीच व्यापार युद्धले बजार ध्वस्त पारेको छ । सुरक्षित लगानीका रूपमा लगानीकर्ता सुनतर्फ आकर्षित भएपछि मूल्य बढेको हो ।’ अहिले कोटा प्रणालीअनुसार वाणिज्य बैंकलाई सुन आयातको अनुमति छ । बैंकहरूले दिनको २० किलो सुन बिक्री गर्न पाउँछन् । त्यो सुन बिक्री गर्न सरकारले ‘सुन बिक्रीवितरण कार्यविधि/निर्देशिका २०६८’ समेत बनाएको छ । कार्यविधिअनुसार आयातकर्ता (बैंकहरू) ले ०.५ र व्यवसायीले ०.५ प्रतिशत (बैंक र व्यवसायी गरी १ प्रतिशत) मुनाफा लिन पाउँछन् । त्यसपछि मूल्यमा प्रिमियम चार्ज (फ्रेड चार्ज, बिमा) का रूपमा ०.२ देखि ०.५ प्रतिशत जोडिन्छ ।
आयातित सुनमा १० प्रतिशत भन्सार लाग्छ । त्यसपछि अन्तर्राष्ट्रिय बजारको मूल्य र विनियम दरका आधारमा मूल्य निर्धारण गरिन्छ ।
