१ खर्ब ३९ अर्बको लगानी, ५४ आयोजना सोकेसमा
विराटनगर — कोशी प्रदेश सरकारले यही वैशाख १८ र १९ मा विराटनगरमा ‘कोशी लगानी सम्मेलन २०८२’ आयोजना गर्दै छ । पहिलो पटक हुन लागेको प्रदेशस्तरीय सम्मेलनमा १ खर्ब ३९ अर्ब ३० करोड ५२ लाख बराबरको सम्भावित लगानी भएका ५४ आयोजना सोकेसमा राखिनेछन् ।
सम्भावनायुक्त क्षेत्रको पहिचान गर्दै उद्योग स्थापनामार्फत पुँजी निर्माण, रोजगारी सिर्जना र गरिबी निवारण गर्ने उद्देश्यसाथ सम्मेलन आयोजना गरिएको सम्मेलनका सचिवालय संयोजक तथा प्रदेश सरकारका सचिव पवनकुमार तिमिल्सेनाले जनाए ।
यसअघि माघ ११–१३ मा सम्मेलन गर्ने तयारी गरिए पनि समय अभाव र निजी क्षेत्रसँगको असमझदारीका कारण स्थगन भएको थियो । अहिले निजी क्षेत्रसँग सहकार्य अघि बढेसँगै सम्मेलनको तयारी तीव्र पारिएको हो ।
सबैभन्दा धेरै लगानी औद्योगिक क्षेत्रमा केन्द्रित हुने प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी सरोज कोइरालाले बताए । उद्योग क्षेत्रमा ६५ अर्ब ४० करोड लागतका ९ आयोजना प्रस्तुत गरिने उनको भनाइ छ । सबैभन्दा ठूलो आयोजना उदयपुरस्थित ३२ अर्ब लागतको उदयपुर क्लिंकर प्रोजेक्ट हो । त्यसपछि सुनसरी र उदयपुरलाई समेट्ने २६ अर्बको ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट पनि मुख्य आकर्षणका रूपमा सम्मेलनमा राखिनेछ ।
पर्यटन क्षेत्रका लागि १५ आयोजना सोकेसमा राखिनेछन्, जसको कुल लागत ३५ अर्ब ९७ करोड ५२ लाख छ । तीमध्ये सबैभन्दा ठूलो आयोजना २५ अर्ब लागतको ताप्लेजुङ–इलाम पोड–वे परियोजना हो । पूर्वाधार क्षेत्रका लागि १४ आयोजना प्रस्तुत गरिनेछ, जसको अनुमानित लागत ३१ अर्ब १ करोड छ । कृषि क्षेत्रमा ३ अर्ब ८ करोडका ९ आयोजना र ऊर्जा क्षेत्रमा २ अर्ब ७७ करोड लागतका २ आयोजना छन् ।
सम्मेलनको तयारी तीव्र पारिएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने सम्भावना रहेको उनको भनाइ छ । ‘यो केवल सरकारको सम्मेलन होइन, कोशी प्रदेशकै साझा अभियान हो,’ उनले भने, ‘प्रदेशको दीर्घकालीन पुँजी निर्माणका लागि सम्मेलन गर्न लागिएको हो ।’ सम्मेलनमा प्रस्तुत हुने परियोजनामा उद्योग र पर्यटन क्षेत्रका आयोजना बढी रहेको मुख्यमन्त्री कार्कीले बताए ।
