ट्यारिफ छल्न चिनियाँ आपूर्तिकर्ताको अमेरिकी ग्राहकलाई अपिल: सिधै हामीबाट सामान किन्नुस्

अमेरिकी टिकटकमा छायो ‘चाइनिज वेयरहाउस’ ट्रेन्ड

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

Chinese supplier's appeal to American customers to avoid tariffs: buy goods directly from us

काठमाडौँ — अमेरिका र चीनबीचको पछिल्लो व्यापार युद्ध सामाजिक सञ्जाल प्लाटफर्म, विशेषगरी टिकटकमा व्यापक बन्दै गएको छ । चिनियाँ आपूर्तिकर्ताहरूले अमेरिकी प्रयोगकर्तालाई अब सिधै चिनियाँ कारखानाबाटै सामान अर्डर गर्न अनुरोध गर्दै आफ्ना उत्पादनका धेरै भिडियोहरू टिकटकमा ह्वारह्वार्ती अपलोड गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको उच्च भन्सार महसुल (ट्यारिफ) छल्न सिधै आफूहरूबाट सस्तो मूल्यमा ‘ब्रान्डेड’ सामान किन्न चिनियाँ व्यापारीहरूले अपिल गरेका हुन् ।

यस ट्रेन्डलाई ‘चाइनीज वेयरहाउस टिकटक’ भनिएको छ । अमेरिकी बजारलाई प्रभाव पार्न चीनले यस्तो रणनीतिक डिजिटल अभियान अवलम्बन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । भिडियोहरूमा चिनियाँ व्यापारीहरूले आफू पश्चिमेली ब्रान्डका स्थानीय कारखानाका कामदार भएको बताउँदै ती ब्रान्डका उत्पादनहरू सस्तो मूल्यमा सिधै उपभोक्तासम्म पुर्‍याउने प्रस्ताव गरिरहेका देखिन्छन् ।

अधिकांश भिडियोहरूमा लुलुलेमन, लुई भुइटन, सानेलजस्ता प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका विभिन्न उत्पादनहरूको प्रचार गरिएको छ । ती उत्पादन चिनियाँ कारखानाबाट खरिद गर्न चिनियाँ टिकटक प्रयोगकर्ताले अमेरिकी ग्राहकलाई आग्रह गरेका छन् । ‘तपाईं किन हामीसँग सिधै सम्पर्क गर्नुहुन्न ?’ एक व्यापारीले टिकटक भिडियोमा भनेका छन्, ‘हामीले दिने सस्तो मूल्य तपाईंले विश्वासै गर्न सक्नुहुन्न ।’ लाखौँ भ्युज भएका दर्जनौँ टिकटक भिडियोहरूमा कारखाना वा गोदामका दृश्यसमेत छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा १४५ प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लगाउने निर्णयपछि यस्ता भिडियोहरू विशेषगरी टिकटकमा बग्रेल्ती पोस्ट भइरहेका हुन् । ट्रम्पको ट्यारिफको प्रतिवादस्वरूप चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशत महसुल घोषणा गरेको छ । यसैबीच सामाजिक सञ्जालमार्फत चिनियाँ आपूर्तिकर्ताहरूले अमेरिकी उपभोक्तालाई बिचौलिया र उच्च भन्सार महसुल छल्दै सिधै आफूहरूबाट खरिद गर्न प्रेरित गरिरहेका छन् ।

Chinese supplier's appeal to American customers to avoid tariffs: buy goods directly from us

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार हाल डीएचगेट नामक चिनियाँ होलसेल स्टोरको एप अहिले अमेरिकी एप स्टोरमा दोस्रो स्थानमा पुगेको छ भने अर्को चिनियाँ ई–कमर्स प्लाटफर्म ताओबाओ पनि सातौँ स्थानमा देखिएको छ ।

न्युजविकका अनुसार एक टिकटक भिडियोमा दिङ ५३६३१ नामक प्रयोगकर्ताले लुई भुइटन ब्रान्डकै जस्तो देखिने झोला ४ डलरमा दिने दाबी गरेका छन् । लुलुलेमनका उत्पादन पनि टिकटक भिडियोहरूमा देखाइएको छ । अर्का एक प्रयोगकर्ताले भनेका छन्, ‘म एउटा गोप्य कुरा बताउँछु, लुई भुइटनका थुप्रै चिनियाँ आपूर्तिकर्ता छन् तर कम्पनीले यो कुरा सार्वजनिक रूपमा स्वीकार गर्दैन ।’

लुलुलेमनका प्रवक्ताले न्युजविकलाई बताएअनुसार ती भिडियोहरूमा देखिएका उत्पादकहरूसँग कम्पनीले कुनै सहकार्य गरेको छैन । उनले ती सामान नक्कली हुनसक्ने चेतावनीसमेत दिएका छन् । लुई भुइटनले पनि ‘द इन्डिपेन्डेन्ट’ सञ्चार माध्यमलाई बताएअनुसार कम्पनीको चीनमा कुनै कारखाना छैन । 

Chinese supplier's appeal to American customers to avoid tariffs: buy goods directly from us

यसअघि ८ सय डलरभन्दा कम मूल्यका आयातमा अमेरिकी आयातकर्तालाई कर छुट दिने गरिएको थियो । यसले साना आयातकर्ता र टिकटकबाटै सामान बेच्नेहरूलाई सजिलो बनाएको भए पनि यो छुट मे २ देखि समाप्त हुँदै छ । यसबीच चीनले पनि अब अमेरिकासँगको व्यापार युद्धमा रक्षात्मक नभई आक्रामक भूमिका प्रस्तुत गर्न थालेको विश्लेषण भइरहेका छन् ।

चीनले दुर्लभ खनिजको निर्यात र अमेरिकी वायुसेवा कम्पनी बोइङका विमानको चीनमा आपूर्ति रोक्ने घोषणा गरेको छ ।

हाल दक्षिणपूर्वी एसियाको भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई विश्वमा सबैभन्दा भरोसायोग्य साझेदारका रूपमा प्रस्तुत गर्दै अमेरिकाले भने ‘दादागिरी गरिरहेको’ आरोप लगाइरहेका छन् ।

भारतीय सञ्चार माध्यम फर्स्टपोस्टका अनुसार चीन र अमेरिकाबीचको लडाइँ अब ट्यारिफमा मात्रै सीमित नरही इन्टरनेट, बजार र सोचसम्म फैलिएको छ । ‘यस्तो प्रकारको अन्तर्राष्ट्रिय टकराव पहिले कहिल्यै देखिएको थिएन,’ फर्स्टपोस्टको विश्लेषण छ ।

कान्तिपुर संवाददाता

Link copied successfully