२ सय १२ कम्पनीको सेयर मूल्य बढ्यो, ३४ वटाको घट्यो ६९ हजार कारोबारबाट सवा २ करोड कित्ता सेयर किनबेच
काठमाडौँ — नयाँ वर्षको सुरुवाती कारोबार दिनमै सेयर कारोबार मापक नेप्से परिसूचक २७.१४ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा एक दशमलव शून्य एक प्रतिशतले बढ्दा समग्र नेप्से २ हजार ६ सय ८९.२२ बिन्दुमा उक्लिएको हो ।
सो दिन कारोबारमा आएका मध्ये कुल २ सय १२ कम्पनीको सेयर मूल्य बढ्यो भने ३४ कम्पनीको घट्यो । कुल ६९ हजार ३ सय ६४ पटकको कारोबारमा कुल २ करोड १८ लाख ४१ हजार ४७ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
सोमबार कारोबारमा आएका मध्ये अधिकांश उपसमूहको परिसूचक बढे । सो दिन लगानीकर्ताको आकर्षण विकास बैंक, निर्जीवन बिमा र होटल तथा पर्यटन उपसमूहको सेयरमा देखिएको छ । जनअनुसार विकास बैंक उपसमूहको परिसूचक १३३.२५, निर्जीवन बिमा १३२.०२, होटल तथा पर्यटन १२८.४४, जीवन बिमा १०७.१८, उत्पादन तथा प्रशोधन ८५.६० अंकले बढे । तर, व्यापार उपसमूहको परिसूचक २९.७० र सामूहिक लगानी कोषको शून्य दशमलव शून्य एक अंकले घटेको छ ।
सो दिन कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी विकास बैंकको सेयर मूल्य १० प्रतिशत बढेर बन्द भयो । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको मूल्य ९.९९ प्रतिशत र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९८ प्रतिशतले बढे । तर, बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.९९, विन नेपाल लघुवित्तको ६.२५, एनआईबीएल स्टेबल फन्डको ३.३७, आत्मनिर्भर लघुवित्तको ३.७१ र अपर सोलु हाइड्रोको ३.२८ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
कारोबार रकमका आधारमा बलेफी हाइड्रोपावर अघि रह्यो । बलेफी हाइड्रोपावरको मात्रै २ अर्ब १ करोड २९ लाख ९३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४२ करोड २२ लाख ३९ हजार, राधी विद्युत् कम्पनीको ३६ करोड २२ लाख ८ हजार, सीईडीबी होल्डिङ्सको ३२ करोड ७७ लाख ७१ हजार र हिमालयन रिइन्स्योरेन्सको ३१ करोड २० लाख ८८ हजार रुपैयाँको सेयर कारोबार भएको नेप्सेको तथ्यांक छ ।
