बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट जेठ दोस्रो साता   

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

Budhist International Travel Mart 2nd week of May

काठमाडौँ — नेपालको घरेलु पर्यटन प्रवर्द्धन गर्न नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सले तेस्रो संस्करणको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट  २०८२ जेठ १० देखि १२ गते काठमाडौं र लुम्बिनीमा आयोजना गर्ने भएको छ । 

मार्ट संयोजक जिश्वा तुलाधर श्रेष्ठका अनुसार, कार्यक्रममा १ सय ५०  बढी अन्तर्राष्ट्रिय बौद्ध पर्यटनप्रति अभिरुचि राख्ने खरीदकर्ता तथा ६० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विक्रेताहरूको सहभागिता हुने छ । सहभागी देशहरूमा भारत, चीन, भुटान, म्यानमार, थाइल्याण्ड, मलेसिया, श्रीलङ्का लगायतका प्रमुख बौद्ध राष्ट्रहरू छन् । यो मार्टमा १ हजार बढी आगन्तुकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन व्यवसायीहरु, बौद्धमार्गी, लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदार र सञ्चारमाध्यमका प्रतिनिधिहरू रहनेछन् ।  

सहभागीताका लागि वैशाख २८ भित्र अनिवार्य दर्ता गर्नु पर्ने नाट्टाले जनाएको छ । कार्यक्रमको आधिकारिक वेबसाइट पनि सार्वजनिक गरिएको छ । वेबसाइटमा कार्यक्रमको विस्तृत जानकारी, कार्यतालिका, सहभागीहरूको प्रोफाइल तथा प्रदर्शनी स्थानसम्बन्धी विवरणहरू समावेश छन् । मार्टबारे जानकारी दिन आयोजना गरीएको कार्यक्रममा बोल्दै पर्यटन बोर्डका सीइओ दीपक राज जोशीले नेपालमा बौद्ध सम्पदाको प्रचुर सम्भावना रहेको, जुन विश्वभरिका करोडौं मानिसहरूसाग भावनात्मक सम्बन्ध राख्ने बताए ।

उनले यो कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय बौद्ध तीर्थ पर्यटन क्षेत्रमा प्रमुख स्थान दिलाउने विश्वास लिएको बताए  । नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले  नेपाललाई केवल बुद्धको जन्मस्थलको रूपमा होइन, बरु बौद्ध धर्मको गहिरो सांस्कृतिक, ऐतिहासिक र आध्यात्मिक महत्व बोकेको देशको रूपमा चिनाउने अवसर मार्ट रहेको बताए ।  उनले यो मेला निजी क्षेत्र र सरकारी निकायहरूबीचको सहकार्यलाई बलियो बनाउने अभियान पनि रहेको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully