आठ महिनामा निर्माण क्षेत्रमा मात्रै १९ अर्ब ७८ करोड रुपैयाँ ऋण प्रवाह

वैशाख २, २०८२

कान्तिपुर संवाददाता

19 billion 78 million rupees loan disbursement in the construction sector alone in eight months

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये सबैभन्दा बढी ९.५ प्रतिशत ऋण निर्माण क्षेत्रमा प्रवाह भएको छ । निर्माण क्षेत्रमा मात्रै १९ अर्ब ७८ करोड रुपैयाँ ऋण प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

गत आर्थिक वर्षको साउन-फागुनसम्म १२ अर्ब २४ करोड ९० लाख रुपैयाँ ऋण प्रवाह भएको थियो ।

निर्माण क्षेत्रअन्तर्गत आवासीय र राजमार्ग, पुललगायत निर्माणमा सबैभन्दा बढी ऋण प्रवाह भएको छ । राजमार्ग, पुललगायत निर्माणमा  १९.८ प्रतिशतले ऋण प्रवाह बढेको छ । चालु आर्थिक वर्षको साउन - फागुनसम्म २० अर्ब ५८ करोड २ लाख रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब २० करोड ३२ लाख ऋण परिचालन भएको थियो ।

आवासीयतर्फ २.६ प्रतिशतले ऋण प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको ८ महिनामा १ अर्ब ८२ करोड १६ लाख रुपैयाँ ऋण प्रवाह भएको छ । गत आर्थिक  वर्षको सोही अवधिमा आवासीयतर्फ ७० करोड ६२ लाख रुपैयाँले ऋण प्रवाह ऋणात्मक छ ।

चालु आर्थिक वर्षको ८ महिनामा गैरआवासीय तर्फ २ अर्ब ६१ करोड ३१ लाख रुपैयाँले ऋणात्मक छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने ऋण भन्दा यसअघि प्रवाह गरिएको ऋणको रकम बढी उठेकाले ऋण प्रवाह ऋणात्मक देखिएको हो । गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ७५ करोड २१ लाख ऋण प्रवाह भएको थियो ।

आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.३ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले ऋण प्रवाह बढेको छ ।

औद्योगिक उत्पादन क्षेत्रअन्तर्गत सबैभन्दा बढी फूड प्रोडक्सन (प्याकेजिङ र प्रोसेसिङ)मा १९.८ प्रतिशतले ऋण प्रवाह बढेको छ । चालु आर्थिक वर्षको ८ महिनामा २७ अर्ब ६० करोड ४३ लाख रुपैयाँ ऋण प्रवाह भएको हो । 

यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले ऋण प्रवाह बढेको छ ।

राष्ट्र बैंकका अनुसार कृषि र खनिजतर्फ भने ऋण प्रवाह ऋणात्मक छ । कृषिमा ८ करोड ९९ लाख रुपैयाँले ऋणात्मक देखिएको छ । कृषि फार्ममा ५ अर्ब ८० करोड ८२ लाख, चियामा ३९ करोड १९ लाख, पशुपालनमा २८ करोड ५६ लाख रुपैयाँले ऋणात्मक देखिएको छ ।

राष्ट्र बैंकका अनुसार कृषि अन्तर्गत सबैभन्दा बढी अन्य कृषि तथा कृषि सेवामा ऋण प्रवाह बढी भएको छ । । अन्य कृषि तथा कृषि सेवामा ५ अर्ब ७४ करोड ६६ लाख रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ । जंगल, माछापालन र वधशालामा ६४ करोड ९२ लाख रुपैयाँ ऋण प्रवाह भएको छ । 

कान्तिपुर

Link copied successfully