पर्यटन र जलविद्युत्‌मा लगानी बढाउँछौं : अध्यक्ष ढकाल

वैशाख १, २०८२

प्रकाश बराल

We will increase investment in tourism and hydropower: President Dhakal

बागलुङ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले युवा रोजगारी बढाउन पर्यटन र जलविद्युत्‌मा लगानी बढाउने बताएका छन् । उनले सरकारले पनि लगानी मैत्री वातावरणको थालनी गरेको बताए ।

नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता आउन खोजिरहेकोले सरकारले वातावरण बनाउनुपर्ने समेत बताए । पर्यटन, जलविद्युत् र कृषि क्षेत्रको विकासमा लगानी बढाएमा नेपाल आत्मनिर्भर बन्न सक्ने समेत उनको धारणा छ । बागलुङबाट प्रकाशित हुने ढोरपाटन दैनिकले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ढकालले विदेशीहरूले पनि लगानी बढाएमा रोजगारी बढाउन सकिने बताए । 

गत वर्ष ढोरपाटन उपत्यकामा सम्पन्न भएको महासंघको तेस्रो कार्यकारिणी बैठकले तय गरेका एजेन्डामा सरकार सहमत भएकोले अबको वर्ष लगानीमैत्री अवस्थाको बाटो खुल्दै जाने समेत उनले बताए । लगानी गरेका व्यवसायीलाई सम्मान गर्न सकेमा बेरोजगारी पनि हट्ने उनको धारणा थियो । 

बैंकहरूले ब्याज घटाउने, कालोबजारी ऐन खारेजीसहितका एजेन्डा पूरा गर्न सरकारले थालिसकेको उनको भनाइ छ । जसका कारण विश्वव्यापी आर्थिक संकटको असर नपरोस भन्ने चाहेको ढकालले बताए । ततबर्ष ढोरपाटन उपत्यकामा भएको महासंघको कार्यकारिणी बैठकको निर्णयलाई बैंक र सरकारले चासो दिएकै कारण लगानीमैत्री वातावरण बनेको उनको भनाइ छ ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully