ताप्लेजुङमा बुनेका अलैंचीका कपडाको आकर्षण देहरादूनसम्म

सिक्दै सुरु गरिएको उद्योगमा अहिले १५ जना कामदार पनि छन् । अहिले वर्षमा २५/३० लाख रुपैयाँसम्मको कारोबार हुन्छ । 

वैशाख १, २०८२

भवानी भट्ट

The attraction of cardamom cloth woven in Taplejung to Dehradun

देहरादून, भारत — अलैंचीको डाँठ र पातबाट बनेको टी-म्याटदेखि पर्स, लेडिज ब्याग र नेपालको झण्डालगायत धेरैले रुचाए । ताप्लेजुङको फुङलिङमा उत्पादन भएका यी सामग्रीले सुदूरपश्चिमको कञ्चनपुरबाट झन्डै साढे ३ सय किलोमिटरपर भारत उत्तराखण्डको राजधानी देहरादूनमा रहेका गोर्खालीको ध्यान तान्यो ।

ताप्लेजुङ फुङलिङ नगरपालिका–२ की माया गुरुङलाई आफ्ना उत्पादनबारे जानकारी दिन भ्याइनभ्याइ थियो । देहरादूनमा चैत पहिलो साता सञ्चालन भएको इन्डो नेपाल व्यापार मेलामा आफ्ना उत्पादन लिएर उनी पुगेकी थिइन् । ‘पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म पुगेकी छु, अहिले भारतमा पनि आफ्ना उत्पादन लिएर आएँ,’ गुरुङले भनिन्, ‘राम्रो बजार पाइयो, ग्राहकले पनि धेरै रुचाए ।’

The attraction of cardamom cloth woven in Taplejung to Dehradunपछिल्लो समय उनलाई मेला महोत्सवमा आफ्ना उत्पादन लैजान फुर्सदै छैन । उनको गाउँमा अलैंची उत्पादन राम्रो हुन्छ । तर त्यसका डाँठ त्यत्तिकै खेर गइरहन्थे । कसैकसैले त्यसको डोरी बनाउँथे । उनको घरमा पनि गाई,-भैंसी बाँध्ने दाम्लो त्यसैको बन्थ्यो । अलैंचीको पात र पराल मिसाएर गुन्द्री बनाइन्छ । तर पराल कुहिन्छ अलैंचीको पात कुहिँदैनन् । यही देखेर गुरुङलाई खेर गइरहेका अलैंचीका डाँठबाट केही बनाउन सकिन्न भन्ने लाग्यो । ‘त्यसपछि अलिअलि कातेर कपडा बनाउन थालेँ, बिस्तारै सिक्दै गएँ,’ गुरुङले भनिन्, ‘सुरुमा थोरै चाहिँदा बारीमा खेर गएको त्यत्तिकै पाइन्थ्यो, तर अहिले धेरै चाहिने भएकाले किन्नुपर्छ ।’ अलैंची उत्पादन भएपछि उनी पात किन्नका लागि बारी बारीमा पुग्छिन् । कतिपय उनको उद्योगमा पुर्‍याएरै जान्छन् ।

सुरुमा बारीमा खेर गएको पात संकलन गरिन्छ । तिनै पातलाई सुकाएर आवश्यकताअनुसारको साइजमा रेसा बनाइन्छ । त्यसपछि तानमा राखेर कपडा बनाइन्छ । अन्तिममा सिलाएर विभिन्न आकार दिइन्छ । उनले उत्पादन गरेका सामग्रीको मूल्य एक सयदेखि करिब ४ हजार रुपैयाँसम्म छ । उनको उद्योगमा विभिन्न म्याट, गुन्द्री, चप्पल, झोला, नेपालको झण्डालगायतका सामग्री उत्पादन हुन्छन् । यी सामग्री स्वदेशसँगै विदेशमा पनि पुग्छ । ‘यसमा रंग पनि लगाउनुपर्दैन, भएको रंग उड्दैन पनि,’ गुरुङले भनिन्, ‘जसले राम्ररी बुझ्छ, उसले किनेरै लैजान्छ, अर्को सामानको पनि अर्डर गरेर जान्छन् ।’ उनका अनुसार अलैंचीका पातबाट बुनेका सामग्री धुन पनि मिल्छ । यसमा खानेकुरा पनि राख्न मिल्छ ।

The attraction of cardamom cloth woven in Taplejung to Dehradun२०६७ मा ताप्लेजुङमा लागेको महोत्सवमा उनले पहिले पटक आफ्नो उत्पादन बिक्री गर्न थालेकी हुन् । त्यसपछि उनले २०६८ मा चन्दन फाइबर उद्योग दर्ता गरिन् । सिक्दै सुरु गरिएको उद्योगमा अहिले १५ जना कामदार पनि छन् । अहिले उनले वर्षमा २५/३० लाख रुपैयाँसम्मको कारोबार गरिरहेकी छिन् । यसबाट उनले वर्षमा १०/१२ लाख आम्दानी गरिरहेकी छिन् । भारतको कोलकातादेखि देहरादूनसम्म र नेपालको झापादेखि कञ्चनपुरसम्म उनी महोत्सवमा पुगेकी छिन् । अहिले पनि विभिन्न जिल्लामा भइरहेका महोत्सवमा पुग्न उनलाई भ्याइनभ्याइ छ । यसले उनको कारोबार वृद्धिसँगै व्यवसायमा समेत हौसला समेत बढाएको छ ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully