साल्ट ट्रेडिङको २५ हजार टन युरिया कोलकाता आइपुग्यो 

वैशाख १, २०८२

शंकर आचार्य

Salt Trading's 25,000 tonnes of urea arrived in Kolkata

पर्सा — साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरबाट आयात गर्न लागेको युरिया मल कोलकाता बन्दरगाह आइपुगेको छ । कर्पोरेसन प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत सन्जयकुमार गुप्ताका अनुसार, सन इन्टरनेसनल कम्पनी आपूर्तिकर्ता रहेको यो कन्साइन्मेन्टको २५ हजार टन युरिया मल बोकेको पानी जहाज शनिबार कोलकाता बन्दरगाह आइपुगेको हो । 

‘आपूर्तिकर्ता कम्पनीबाट प्राप्त सूचनाअनुसार चीनबाट युरिया मल बोकेर पानी जहाज शनिबार कोलकाता बन्दरगाह आइपुगेको छ,’ उनले भने, ‘अब कोलकाता बन्दरगाहमा बोरामा मल प्याकिङ गरेपछि नेपाल तर्फ मल त्यहाबाट परिचालन हुने छ ।’ 

कोलकातामा मल प्याकिङ गरी नेपाल आइपुग्न करिब डेढ साता लाग्ने पनि गुप्ताले बताए । ‘सामान्यतया कोलकाता आइपुगेपछि मल प्याकिङ गरी नेपाल आइपुग्न एकदेखि डेढ साता लाग्छ,’ उनले भने, ‘२५ हजार टनमध्ये वीरगन्ज, विराटनगर र भैरहवा प्रादेशिक कार्यालयले मल पाउनेछन् ।’ भैरहवा र विराटनगरको मल त्यहीँका भारतीय नाकातर्फ जाने छ । 

भित्रिन लागेको युरिया मल चैते धान बालीका लागि उपयोगी हुने गुप्ताले बताए । हाल चैते धान बालीको सिजन रहेको र यो बालीका लागि युरिया मलको माग रहेकाले भित्रिन लागेको मलले धेरै हदसम्म माग धान्ने उनले दाबी गरे । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully