अघोषित लोडसेडिङ हटाउन वीरगन्जका उद्योगीको माग

विद्युत्‌को नियमित आपूर्ति हुन नसकेपछि करिडोरका उद्योग कम क्षमतामा

वैशाख १, २०८२

शंकर आचार्य

Demand of industrialists of Birgunj to remove unannounced load shedding

पर्सा — वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा जारी अघोषित लोडसेडिङ हटाउन माग गरेको छ । नेपाल विद्युत् प्राधिकरणले गरिरहेको अघोषित लोडसेडिङ र बिनासूचना विद्युत् कटौतीप्रति संघले विज्ञप्ति जारी गरेरै चिन्ता जनाएको छ । लोडसेडिङको वैकल्पिक उपाय खोज्न प्राधिकरणसँग संघको माग छ ।

उद्योग प्रतिष्ठानहरूको अक्सिजनका रूपमा रहेको विद्युत्को नियमित आपूर्ति हुन नसकेपछि करिडोरका उद्योग कम क्षमतामा सञ्चालन भइरहेको विज्ञप्तिमा उल्लेख छ । ‘५–६ वर्षअघि प्राधिकरणले घोषणा गरेको लोडसेडिङमुक्त औद्योगिक क्षेत्र तथा उज्यालो नेपालको नाराबाट उद्योगी, व्यवसायी तथा सर्वसाधारण उत्साहित थिए । तर बढ्दो विद्युत् कटौती, गुणस्तरीय विद्युत् आपूर्ति नहुँदा उद्योगहरूका उपकरण र कच्चा पदार्थ बिग्रिनुका साथै उत्पादन प्रक्रियामा समेत नकारात्मक असर परिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पर्सा–बारा औद्योगिक करिडोरका उद्योगले विभिन्न समस्या खेपिरहेकै बखत विद्युत् कटौतीको समस्या झेल्नुपर्दा उद्योगी मर्कामा छन् ।’ 

विद्युत् कटौतीका बेला डीजी सेटबाट उद्योग सञ्चालन गर्नुपर्दा उत्पादन लागत बढ्न गई प्रतिस्पर्धी क्षमतासमेत गुमाउँदै गएको जनाइएको छ । साना उद्योगले विद्युत् कटौतीका बेला डीजी सञ्चालन गर्न नसक्ने भएकाले उद्योग बन्द राख्नुपर्ने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । 

वीरगन्ज–पथलैया औद्योगिक करिडोरस्थित औद्योगिक फिडरमा २४ घण्टामा १४/१५ पटकसम्म ट्रिपिङ भइरहेका कारण औद्योगिक उपकरण बिग्रिएको र कच्चा पदार्थसमेत नोक्सान भइरहेको विज्ञप्तिमा भनिएको छ । यस्तो समस्या समाधानका लागि लोडसेडिङको निश्चित समयावधि नै तोकी बाँकी समयमा गुणस्तरीय विद्युत् आपूर्ति गर्नुपर्ने संघको धारणा रहेको छ । 

संघले हिउँद मौसममा प्रत्येक वर्ष विद्युत् आपूर्तिमा समस्या आइरहेकाले यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । संघले उद्योगहरूबाट खपत भएको विद्युत् महसुलको रकमअनुसार गुणस्तरीय विद्युत् आपूर्ति गर्नुपर्ने धारणासमेत विज्ञप्तिमार्फत व्यक्त गरेको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully