पूर्वाधारविहीन कोरला नाका, नेपालीलाई छैन फाइदा

चीनबाट ल्याइएका सामान भण्डारणका लागि नेपालतर्फ ल्याएर राख्ने ठाउँसमेत छैन

चैत्र ३१, २०८१

माधव अर्याल

Korla pass without infrastructure, no benefit to Nepalese

पाल्पा — चिसो मौसम, सरर हावा चल्ने नेपाल–चीन सिमानास्थित कोरला नाका समुद्री सतहदेखि ४ हजार ६ सय मिटर उचाइमा छ । २०२९ सालमा गाडिएको नेपाल लेखिएको २४ नम्बर पिल्लर ठिङ्ङ ठडिएको छ । झन्डै डेढ सय मिटर दक्षिणतर्फ नेपालले एउटा चारकोठे भवन (टिनले छाएको एकतले) निर्माण गरेको छ ।

कोरला नाकामा गत कात्तिक १४ मा अध्यागमन कार्यालय खुलेको हो । केही दिनमै बन्द भएर चैतको तेस्रो सातासम्म पनि खुलेको छैन ।

‘प्रदेश सरकारले चारकोठे भवन बनायो, अध्यागमन कार्यालयको उद्घाटन पनि भयो,’ कोरला नाका मुस्ताङका व्यापारी पासाङ वाङ्दी गुरुङले भने, ‘तीन–चार दिन खुल्यो होला, तर त्यसपछि कोही आएको छैन । कार्यालयमा ताला झुन्डिएको छ ।’ व्यापारी गुरुङले कोरला नाकाको चीनतर्फ भने ठुल्ठूला भवन निर्माण भएको छ । बिहान ९ देखि २ बजेसम्म व्यापार गर्न नेपाली जान पाउने व्यवस्था छ ।

चीनले आफ्नो देशतर्फ सबै सुविधा दिएको छ । नेपालतर्फ भने ठेला र टेन्टमा व्यापार गर्नुपरेको गुरुङले बताए । हावा लाग्ने भएकाले नेपालतर्फ भवन अभावले गर्दा त्यति भीडभाड देखिँदैन । ‘यहाँ आउनेहरू एक घण्टा पनि रोकिन सक्ने अवस्था हुन्न,’ उनले भने, ‘पानी परे ओत लाग्ने ठाउँसमेत छैन । त्यसैले सबै तत्काल फर्किन हतारिन्छन् ।’

व्यापार गर्नेहरू कतिपयले टेन्ट गाडेका छन् । तर खुला खटियामा व्यापार गर्नेहरू हावाले गर्दा पूरै मुख छोप्नुपर्ने बाध्यतामा छन् । तैपनि चीनबाट ल्याएका सामान बिक्री गरेका छन् । चीनबाट ल्याइएका सामान भण्डारणका लागि पूर्वाधार केही छैन । चीनतर्फबाट सामान ल्याएर राख्ने ठाउँसमेत छैन । कोरला नाकाबाट ल्याएको सामान जाँचपास गराउन १३ किलोमिटर टाढाको नेचुङ आउनुपर्ने लोमान्थाङकी व्यवसायी कार्चुङ विष्टले गुनासो गरिन् ।

‘नाका भन्ने मात्र हो, चीनले कति धेरै विकास गरिसकेको छ,’ उनले भनिन्, ‘नेपालतर्फ केही छैन । अनि व्यापार गर्न गए पनि भन्सार जाँचपास पनि धेरै टाढा छ । सरकारले यस विषयमा सोच्न सकेको छैन ।’

नाकामा भन्सार र सुरक्षा निकायको नियमित उपस्थिति हुन्न । नाकामा एक जना प्रहरी मोटरसाइकलमा जाने र फर्किने गर्छन् । नेपालतर्फ भवन, खानेपानी, सञ्चार सुविधा र शौचालय व्यवस्थापन नभएको विष्टको भनाइ छ । व्यापार गर्ने र नाका पुग्ने जोकोहीलाई समस्या भएको उनले जनाइन् । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका स्थानीयलाई प्रवेश पास दिइएकाले चीनतर्फ पुगेर व्यापार गर्ने र दुई बजेपछि फर्किने गर्छन् । सामान खरिद गरेर ल्याएर बिक्रीसमेत गर्दै आएका छन् ।

व्यापारीका अनुसार कोरला नाका खुलेपछि मुस्ताङ र चीनबीच व्यापार–व्यवसाय, आवतजावत र कारोबार सुरु भएको छ । कोरला नाकाबाट लत्ताकपडा, बिजुलीका सामान, पेय पदार्थ, दैनिक उपभोग्यलगायत सामान नेपालतर्फ आयात हुने गरेको व्यवसायी बताउँछन् । नेपालबाट भेडाको ऊन, पस्मिना, जिम्बुलगायत सामान चीनतर्फ बिक्री हुने गरेको छ । कोरला नाकाबाट भेडा–च्यांग्रा पनि खरिदबिक्री हुने गर्छन् ।

Korla pass without infrastructure, no benefit to Nepalese

कोरला नाकादेखि १३ किलोमिटर टाढाको मुस्ताङ नेचुङमा कस्टम, क्वारेन्टिन, इमिग्रेसनलगायत सुरक्षा व्यवस्था छन् । तर नाकामै यसको स्थायी रूपमा व्यवस्थापन हुन नसकेको व्यवसायी लोमान्थाङका कर्मा आङ्देल गुरुङको भनाइ छ । सरकारले नेपालतर्फ भवन बनाउने र व्यवस्थित गर्ने हो भने चीनका सामान र नेपाली सामान व्यापार गर्न सहज हुन्थ्यो । चीनतर्फ भने तारबारले घेरिएको गेट र ठुल्ठूला भवन बनिसकेका छन् । चीनले भन्सार कार्यालयदेखि सबै कामका लागि पूर्वाधार तयार गरिसकेको छ । ‘चीनतर्फ सबै काम भइरहेको छ, हाम्रोतर्फ भने केही पनि छैन,’ गुरुङले भने, ‘नाका खुल्यो भनियो तर पनि व्यापार गर्न सहज छैन । पूर्वाधारबिना कसरी काम गर्नु ?’

कोरला नाकाको २४ नम्बर पिल्लरदेखि पारि चीनतर्फ एकीकृत भन्सार कार्यालयको भवन बनेको पनि वर्षौं भइसकेको उनले बताए । चीनतर्फ भन्सारका कार्यालय, सडक, बिजुली, पानीलगायत काम भएका छन् । नेपालतर्फ चार कोठाको भवन बनेको थियो । त्यही पनि उद्घाटन भएर बन्द भएको छ ।

कोरला नाकामा एकीकृत भन्सार कार्यालय खोल्न एक हजार रोपनी जमिन भन्सार कार्यालयको नाममा ल्याउने प्रक्रिया ४ वर्षअघिदेखि नै अगाडि बढेको थियो । सीमांकन गरेर सिफारिस भइसकेको छ । १३ किलोमिटर टाढा रहेको नेपाल प्रहरीले नै कोराला नाका हेर्छ । नाकासम्म निगरानी गर्न पूर्वाधार छैन । जनशक्ति र साधनस्रोत केही छैन । ‘बाटोमा जाँदा र आउँदा हेर्छन्,’ उनले भने, ‘कहिलेकाहीं नाकामा एक–दुई जना प्रहरी देखिन्छ । त्यही पनि हावा लागेपछि फर्किहाल्छन् ।’

कोरला नाका घुम्न पुगेका पर्यटकलाई केही समस्या पर्ने हो भने समयमै उद्धार गर्नसमेत समस्या छ । लेक लाग्ने समस्या भएकालाई उही १३ किलोमिटर टाढा नेचुङको सशस्त्र प्रहरीको क्याम्पमा ल्याएर अक्सिजन लगाउनुपर्ने बाध्यता छ ।

सुरक्षा निकाय र आपत्कालीन अवस्थामा उद्धारका लागि भवन निर्माण गरिएको हो । चारकोठे व्यावसायिक वृद्धिका लागि प्रभावकारी छैन । व्यावसायिक रूपमा नाकालाई अगाडि बढाउन आवश्यक पूर्वाधार निर्माणमा सरकारले बेवास्ता गरेको लोमान्थाङ गाउँपालिका–१ मुस्ताङका वडाध्यक्ष पेमा आङ्ग्या गुरुङले बताए । गाउँपालिका र वडाले भौतिक पूर्वाधारका लागि पहल गरे पनि आफैं काम गर्न नमिल्दा पनि समस्या भएको उनको भनाइ छ ।

Korla pass without infrastructure, no benefit to Nepalese

‘हामीले पहल गरे पनि प्रदेश र संघीय सरकारले अनुमति नदिएपछि समस्या भएको छ,’ आङ्ग्याले भने, ‘धेरै पटक सांसद, मन्त्री सबैलाई गुनासो सुनायौं । तर पनि भौतिक पूर्वाधारदेखि खानेपानी, विद्युत् र शौचालयको समेत राम्रो व्यवस्था छैन ।’ जग्गा व्यवस्थापन भए पनि यसमा संघीय सरकारले चासो नदिएकाले काम अघि बढ्न नसकेको उनले जनाए ।

भौतिक संरचना निर्माणका लागि एक हजार ३४४ रोपनी जग्गा छुट्याइसकिएको छ । गाउँपालिकाले जग्गा व्यवस्थापन गरेको पनि धेरै वर्ष भइसकेको छ । तर भौतिक पूर्वाधारका लागि काम अघि बढेको छैन । ‘सडक स्तरोन्नति भएसँगै दैनिक सयौं पर्यटक कोरला नाका पुगेर फर्किन्छन्,’ उनले भने, ‘तर कुनै पनि सुविधा नभएपछि एक घण्टा पनि अडिन नसकेर फर्किनुपर्छ ।’ मुस्ताङको जोमसोमदेखि ११२ किलोमिटर उत्तरमा पर्ने कोरला नाकासम्म स्तरोन्नति गरेर दुई लेनको कच्ची सडकको पहुँच पुगेको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully