काठमाडौँ — वैशाख महिनाका लागि तीन वटा वाणिज्य बैंकले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने दुई वटाले घटाएका छन् । बाँकी १५ वटा बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।
वैशाखमा एक वर्षे मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०२५ प्रतिशत र न्यूनतम ४.०६१ प्रतिशत कायम भएको छ । चैतमा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०१४ र न्यूनतम ४.०५१ प्रतिशत रहेको छ ।
यस्तै, २० वाणिज्य बैंकहरुमध्ये वैशाखका लागि साधारण बचतको ब्याजदर एउटा बैंकले बढाएको छ भने एउटाले घटाएको छ । जसअनुसार वाणिज्य बैंकहरुमा वैशाखका लागि साधारण बचतको औसत अधिकतम ब्याजदर ४.४१४ प्रतिशत र न्यूनतम ३.०१३ प्रतिशत कायम भएको छ । यही चैतमा यस्तो ब्याजदर क्रमशः ४.४६४ र ३.०१३ प्रतिशत रहेको थियो ।
पछिल्ला हरेक महिना बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । सोही क्रममा वैशाखका लागि पनि नयाँ ब्याजदर प्रकाशित गरेका हुन् ।
