पाल्पा — पछिल्लो समय अर्थतन्त्रमा क्रमिक सुधार आएको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दाबी गरेका छन् । उनले अर्थतन्त्रमा देखा परेका प्रतिकूलतालाई अनुकूलतामा बदल्न वर्तमान सरकारले धेरै प्रयास गरेकाले सुधारको संकेत देखा परेको बताए ।
नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार तानसेनमा राखेको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘वर्तमान सरकार गठन भएपछि धेरै प्रयास गरेकाले नै अहिले केही सुधारका संकेत देखा परेको छ ।’ उनले यो सरकार निर्माण हुँदाका बखत अर्थतन्त्रका कैयौं परिसूचकहरु नकारात्मक भएको समेत बताए । ‘वर्तमान सरकार निर्माण भएपछि निकै धेरै मिहिनेत र प्रयास गरिएको छ,’ उनले भने, ‘त्यसैको प्रतिफल स्वरुप क्रमश: अर्थतन्त्रमा सुधार आएको छ ।’ अर्थतन्त्रमा देखिएको यावत समस्यालाई वर्तमान सरकारले प्रभावकारी ढंगले समाधान गर्दै अगाडि बढ्नेसमेत उनले बताए ।
अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भएको ढिलाइले राम्रै परिणाम ल्याउने समेत बताए । नेपाली जनताले यो सरकारले राम्रो निर्णय गरेको छ भन्ने गरी उचित निर्णय लिने समेत उनले बताए । ‘गभर्नरको नियुक्ति छिट्टै गरिने छ,’ उनले भने, ‘सबैलाई मान्ने हुने र राम्रो निर्णयको तयारीमा भएकाले नै केही ढिलाइ भएको हो ।’ उनले पाल्पा, रुपन्देही क्षेत्रको लाइफलाइन सिद्धार्थ राजमार्ग र अहिले निर्माण भइरहेको सिद्धबाबा सुरुङमार्ग समयमा सक्नेगरी काम भएको बताए । राजमार्गलाई सुरक्षित बनाउन सुरुङमार्गले सहयोग पुग्ने उनले बताए ।
‘पहिले मृत्युमार्गका रुपमा समेत उपमा पाएको थियो,’ उनले भने, ‘मैले अहिलेको कामको अवलोकन गरेको थिए । समयमा निर्माण सकिन्छ र सुरक्षित मार्गका रुपमा विकसित हुनेछ ।’ सिद्धार्थ राजमार्गको जोखिमयुक्त यात्राबाट सुरक्षित यात्रामा बदल्ने यहाँका आम मानिसको चाहनालाई पूरा गर्न आफूले प्रयास गरेको समेत बताए । राजमार्गको पुरानो बाटोलाई रकसेड निर्माण गरेपछि यहाँको जोखिम हट्ने उनले बताए । उनले बुटवलदेखि पोखरासम्मको समग्र सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गर्ने कामलाई सरकारले प्राथमिकता दिएको बताए ।
फरक प्रसंगमा बोल्दै अर्थमन्त्री पौडेलले राजतन्त्रवादीहरु सडकमा उत्रिएर आफ्ना प्रतिगामी उद्देश्यहरु पूरा गर्ने प्रयास गरेको बताउँदै त्यस्ता तत्त्वहरु जनस्तरबाटै परास्त हुँदै गएको बताए । उनले जनताको विश्वास जितेर भन्दा पनि हिंसा, तोडफोड, आगजनी, लुटपाटको बाटो तय गर्दा प्रतिगामी तत्त्वहरु हिजोभन्दा आज झन् बढी बद्नाम भएको समेत बताए ।
