‘आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र सहकार्य अपरिहार्य’

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

”Government and private sector cooperation is indispensable for economic development”

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार र निजी क्षेत्र सँगसँगै रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारणसभा तथा उद्योग दिवस २०८१ मा प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै सुझावका आधारमा नीतिगत सुधारसमेत गरेको जनाए ।

सरकारले निजी क्षेत्रका सुझावलाई गम्भीरतापूर्वक लिएको र तदनुरूप नीतिगत सुधार गर्दै देशमा लगानीमैत्री वातावरण सिर्जना भइरहेको उनको भनाइ छ । ‘सरकार निजी क्षेत्रसँग साझेदारीमा काम गर्न पूर्ण रूपमा प्रतिबद्ध छ,’ उनले भने, ‘निजी क्षेत्रकै सुझावका आधारमा पछिल्ला नीतिगत सुधार गरेका छौं । देश विकास सबै मिलेर गर्ने हो । हामी सहकार्यको त्यो नमुनामा काम गरिरहेका छौं ।’ 

नीतिगत स्थिरता र स्थायित्वका लागि वर्तमान सरकारले काम गरेको उनको दाबी छ । सरकारलाई सही सुझाव दिन आन्दोलन गरिरहनु नपर्ने र जनतालाई सहज एवं सरल रूपमा सेवा दिन तीनै तहका सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले बताए । 

”Government and private sector cooperation is indispensable for economic development”

आर्थिक समृद्धि र विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ । सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न निजी क्षेत्रले निर्बाध रूपमा काम गर्न पाउने विषय पहिलो प्राथमिकता हुनुपर्नेमा उनले जोड दिए । 

अर्थतन्त्र, विकास र समृद्धिमा राजनीतिक दलहरूको साझा धारणा बनाउनुपर्ने उनले जनाए । ‘अर्थतन्त्रलाई कुनै पनि वादले बिथोल्नु हुँदैन । यसलाई सबैभन्दा माथि राख्नुपर्छ । मुलुकमा समृद्धि आउनु भनेको सबैले अवसर पाउनु हो,’ उनले भने, ‘त्यसका लागि पैसा, वुद्धि, विवेक र सीपको लगानी गर्नुपर्छ । त्योभन्दा पहिले पैसाको लगानी हुनु आवश्यक छ ।’ विगतमा सरकारले चाहिनेभन्दा बढी सतर्कता अपनाउँदा अर्थतन्त्रमा संकुचन आएको ढकालले बताए । त्यति बेला बजारको माग नियन्त्रण गर्न अपनाइएका नीतिगत निर्णयले बजारलाई अझैसम्म चलायमान हुन नदिएको उनको आरोप छ । पछिल्ला दुई वर्षमा भारत, चीन र यूएईमा सम्पन्न चार सम्मेलनको अनुभवबाट विदेशी लगानीकर्ता नेपाल आउन इच्छुक रहेको उल्लेख गर्दै उनले सार्थक प्रयास गर्ने हो भने विदेशी लगानी बढाउन सकिने जनाए । देशमा ८६ प्रतिशत रोजगारी सिर्जना, प्रत्यक्ष–अप्रत्यक्ष राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान र ८१ प्रतिशत हिस्सा लगानी गरेको निजी क्षेत्र अझै सम्मानित हुने अवस्था नरहेको अध्यक्ष ढकालले गुनासो गरे । 

सरकारले देशको समग्र आर्थिक विकास र समृद्धिका लागि काम गरिरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताइन् । नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नुपर्ने उनले सुनाइन् । मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उनको भनाइ छ । 

उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनाए । विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको उनले बताए । उद्योगमैत्री वातावरण कानुनमा सुधार गरिएको समेत उनको भनाइ छ । 

सरकारले निजी क्षेत्रलाई साक्षीका रूपमा मात्र नभई सहयात्रीका रूपमा हुर्नेपर्ने महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले धारणा राखे । सरकारले गरेका नीतिगत सुधार सकारात्मक भए पनि कार्यान्वयनमा हुने ढिलासुस्तीले विश्वासमा संकट आउने गरेको उनको भनाइ छ ।

साधारणसभामा महासंघले पाँचथर, पर्वत, चितवन र सिन्धुली उद्योग वाणिज्य संघलाई सम्मान गरेको छ । वस्तुगत समूहबाट नेपाल हस्तकला महासंघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट नेपाल–भारत उद्योग वाणिज्य संघ र प्रादेशिक शाखाहरूमा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशलाई सम्मान गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गर्ने महासंघका सदस्यहरूलाई समेत सम्मान गरियो । 

वस्तु निर्यातको कारोबारतर्फ डाबर नेपाल, बैंक, वित्तीय संस्था र बिमाको कारोबारतर्फ नबिल बैंक, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामूलक उद्योगमा भोटेकोशी पावर कम्पनी, रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनी ट्रान्सफर र विशेष उद्योगहरूमा वरुण विभरेज नेपाललाई सम्मान गरिएको छ । महासंघमा २५ वर्ष सेवा अवधि पूरा गरेका निर्देशक सूर्यराज पौडेल र उपनिर्देशक विदुरचन्द्र लामिछानेलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कान्तिपुर

Link copied successfully