नेपालमा डिजिटल घुमन्तेलाई ५ वर्षसम्मको बहु-प्रवेश भिसा दिन आयोगको सुझाव

हाल इस्टोनिया, इन्डोनेसिया, थाइल्यान्ड, स्पेन, पोर्चुगल, संयुक्त अरब इमरेट्स (यूएई) , मलेसियाजस्ता देशले डिजिटल नोम्याड भिसा लागू गरिसकेका छन् ।

चैत्र २९, २०८१

कान्तिपुर संवाददाता

Commission's recommendation to give digital nomads multi-entry visa up to 5 years in Nepal

काठमाडौँ — सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले डिजिटल घुमन्ते (डिजिटल नोम्याड) लाई आकर्षित गर्न नयाँ नीति प्रस्ताव गरेको छ । यसअनुसार डिजिटल घुमन्तेहरूलाई उनीहरूको मासिक आम्दानी १५ सय अमेरिकी डलरभन्दा बढी वा बैंकमा २० हजार अमेरिकी डलरभन्दा बढी मौज्दात भएमा एक पटकमा ५ वर्षको म्याद भएको बहु-प्रवेश भिसा प्रदान गर्न भनिएको छ । 

आयोगले शुक्रबार अर्थ मन्त्रालयलाई बुझाएको प्रतिवदेनमा डिजिटल घुमेन्तेहरूले भिसा पाउन नेपालको अस्पतालमा उपचारको भुक्तानीको लागि १ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य बीमा गराएको प्रमाण प्रस्तुत गर्नुपर्ने सर्त प्रस्ताव गरिएको छ । डिजिटल घुमन्ते भिसाको म्याद ५ वर्षको भए पनि एक पटकमा अधिकतम एक वर्षको मात्र आवासीय स्वीकृति दिन सुझाव दिइएको छ ।

‘डिजिटल भिसा प्रवेशाज्ञावाहकलाई नेपालको वाणिज्य बैंकमा परिवर्त्य मुद्राको खाता खोल्न दिने,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘उक्त खातामा ५० हजार डलरभन्दा बढी भएमा बढी भए जतिको रकम जुनसुकै बेला पनि विदेशको बैंकमा ट्रान्सफर गर्न दिने । ५ वर्ष भिसा अवधि सकिएपछि भिसा नवीकरण नगराएमा बैंकमा मौज्दात बाँकी रहेको पुरै रकम लैजान दिने ।’ 

डिजिटल घुमन्ते १८३ दिन वा सोभन्दा बढी नेपालमा बसेको भए उसले यहाँ आर्जन गरेको आयमा ५ प्रतिशत आयकर लाग्ने व्यवस्था  गर्नुपर्ने आयोगले सरकारलाई सुझाव दिएको छ । त्यस्तै, डिजिटल घुमन्तेहरूलाई नेपालमा आफ्नै नाममा सवारी साधन दर्ता गर्न र उनीहरूको स्थायी आवास भएको मुलुकबाट प्राप्त सवारी चालक प्रमाणपत्रलाई मान्यता दिनु उचित हुने आयोगको ठहर छ । 

प्रतिवेदनको दफा १९४ मा काठमाडौं, भरतपुर, पोखरा र लुम्बिनीजस्ता प्रमुख शहरहरूमा रिमोट वर्क तथा डिजिटल घुमन्तेहरूको लागि अनुकूल इन्टरनेट सेवा, उच्च गुणस्तरको कार्यस्थल, र भौतिक पूर्वाधार विकासमा लगानी गर्न प्रस्ताव गरिएको छ ।

हाल विश्वमा करिब दुई दर्जन देशले डिजिटल नोम्याड भिसा कार्यक्रम शुरू गरेका छन् । सबैभन्दा पहिला सन् २०१९ मा इस्टोनियाले यस्तो भिसा प्रदान गर्न थालेको थियो । इन्डोनेसिया, थाइल्यान्ड, स्पेन, पोर्चुगल, संयुक्त अरब इमरेट्स (यूएई) लगायत देशले ‘डिजिटल नोम्याड भिसा’, ‘माइ सेकेन्ड होम’ जस्ता भिसा फिरन्ते शैलीमा सूचना प्रविधिसम्बन्धी काम ‘वर्क फ्रम एनिह्वेयर’ गर्ने पेशेवरहरूलाई उपलब्ध गराउँदै आएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully