आगामी बजेटमा पूर्वाधार र जलाशययुक्त आयोजनामा लगानी विस्तार गर्न अर्थमन्त्रीलाई निजी क्षेत्रको सुझाव

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

Private sector's suggestion to the finance minister to expand investment in infrastructure and reservoir projects in the upcoming budget

काठमाडौँ — उद्योग संगठन मोरङले आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले ल्याउने बजेटका सन्दर्भमा उद्योग व्यवसाय क्षेत्रका विविध विषयलाई समेटी तयार पारेको सुझाव उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई बुझाएका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठको प्रतिनिधि मण्डलले उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएका समस्यालाई गम्भीरतापूर्वक लिई प्रस्तुत सुझावलाई आगामी बजेटमा सम्बोधन गर्न बुधबार अर्थमन्त्रीसमक्ष आग्रह गरेका हुन् ।  

छलफलका क्रममा मोरङका अध्यक्ष राकेश सुरानाले उद्योग व्यवसाय क्षेत्रले अहिले पनि ६ देखि ८ घण्टासम्मको लोडसेडिङ भोग्दै आएकाले प्रसारण लाइनजस्ता पूर्वाधारमा लगानी विस्तार गर्न, जलाशययुक्त आयोजनालाई सम्पूर्ण लगानी फोकस गर्न अनुरोध गरे । विश्वासको वातावरण बनाउन राज्यले उद्योगी व्यवसायीलाई भुक्तानी गर्नुपर्ने छुट सहुलियत, निर्यात अनुदानजस्ता रकम विलम्ब नगरी भुक्तानी गर्नुका साथै नीतिगत स्थिरता कायम गर्न, खुला सिमाना नियमन गर्न र उधारो कारोबारको नियमन र व्यवस्थापनका लागि स्पष्ट कानुन ल्याउनुपर्नेमा सुरानाले जोड दिए । 

कुल व्यापार लागतमा लजिस्टिक खर्च ३० प्रतिशतभन्दा बढी रहेको अवगत गराउँदै अध्यक्ष सुरानाले  कोशी प्रदेशकै गेम चेञ्जरका रुपमा रहेको विराटनगर कार्गो रेलको हेण्डलिङ शुल्कको मूल्य परिमार्जन गरी सञ्चालनमा ल्याउन अनुरोध गरे ।

छलफलका क्रममा अध्यक्ष सुरानाले हाल कतिपय उद्योगको कच्चा पदार्थ र तयारी बस्तुबीच भन्सार दरको फरक तीन तहको रहेको छ भने कतिपयमा एक तहको रहेको बताउँदै सबै प्रकृतिका उद्योगलाई एकै प्रकारको दर कायम गर्न अनुरोध गरे ।  मोरङ संघका अध्यक्ष राठीले अहिलेको आर्थिक सुस्तता, निराशालाई सम्बोधन गर्ने गरी आगामी बजेट निर्माण गर्न अर्थमन्त्रीसमक्ष आग्रह गरेका छन् । 

कान्तिपुर

Link copied successfully