नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एडीबीको प्रक्षेपण

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

ADB's forecast of Nepal's economic growth rate is 4.4 percent

काठमाडौँ — चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत हुने एसियाली विकास बैंक (एडीबी)को प्रक्षेपण छ । बुधबार सार्वजनिक गरेको ‘एसियन डेमलपमेन्ट आउटलुक २०२५’ मार्फत एडीबीले गत आर्थिक वर्षको तुलनामा यस वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो ।

आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर केही बढेर ५.१ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण छ । चालु आर्थिक वर्षमा मूल्यवृद्धि ५.२ प्रतिशतमा सीमित हुने प्रक्षेपण एडीबीको छ । आगामी वर्षमा यो ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ । चालु आर्थिक वर्षमा उत्पादनमूलक क्षेत्रको विस्तार भएकाले आर्थिक वृद्धिमा सकारात्मक टेवा पुग्ने एडीबीको अनुमान छ ।

‘चालु आर्थिक वर्षको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७.७ प्रतिशत कर्जा विस्तार भएको छ । उत्पादनमूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च छ,’ एडीबीका नेपाल आवासीय मिसनका अर्थशास्त्री मानवरसिंह खड्काले भने, ‘यो क्षेत्रको वृद्धिलाई ऊर्जा क्षेत्रले धेरै नै योगदान गर्ने देखिन्छ ।’

पर्यटन आगमनमा भएको वृद्धिका कारण सेवा क्षेत्रको वृद्धि पनि सकारात्मक हुने, व्यापार तथा पारवहन क्षेत्रमा पनि सुधार हुने र स्वदेशी तथा विदेशी लगानी वृद्धिका लागि सरकारले गरेका नीतिगत सुधारले लगानी विस्तार हुनुका साथै सेवा क्षेत्रमा पनि सुधार आउने एडीबीले जनाएको छ ।  

चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले गत साता सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट : अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully