सगरमाथा आरोहणका लागि मात्रै ३० देशका १ सय ३४ जनाले लिए अनुमति
काठमाडौँ — वसन्तकालीन हिमाल आरोहण सिजन सुरु भएसँगै विदेशी आरोही नेपाल आउने क्रम बढेको छ । पर्यटन विभागकी निर्देशक आरती न्यौपानेका अनुसार, मंगलबारसम्म नेपालसहित ५७ वटा देशका ३ सय ८१ जनाले सगरमाथासहित १५ वटा हिमाल आरोहणका लागि भृकुटीमण्डपमा रहेको विभागबाट अनुमति लिएका छन् ।
विभागका अनुसार, फागुन १७ देखि चैत २६ गतेसम्म सगरमाथा आरोहण गर्न नेपालसहित ३० देशका १ सय ३४ जनाले अनुमति लिएका छन् । यिनमा २७ महिला र १ सय ७ पुरुष छन् । सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै अनुमति लिनेमा अमेरिकाबाट ४२, चीनबाट १९, भारतबाट १७, अस्ट्रेलियाबाट ६, क्यानडा तथा ब्राजिलबाट ५/५ छन् ।
विभागले हिमाल आरोहणको अनुमति जारी गर्दा २४ करोड ५२ लाख रुपैयाँबराबरको सलामी दस्तुर संकलन गरेको छ । सगरमाथा आरोहणका लागि संकलन भएको सलामी दस्तुर २० करोड १६ लाख रुपैयाँ रहेको छ ।
हालसम्मको अनुमतिमा सगरमाथापछी अन्नपूर्ण प्रथमका लागि ६६, अमादब्बलमका लागि ४८, मकालुका लागि ४०, ल्होत्सेका लागि ३०, कञ्चनजंघाका लागि २०, हिमलुङका लागि १२, थोराङ पिकका लागि ९, अन्नपूर्ण चौथोका लागि ८, पोकरखाङका लागि ४ जनाले अनुमति लिएको विभागले जनाएको छ ।
नेपालमा हरेक वर्ष वसन्त र शरद गरी दुई सिजन हिमाल आरोहणका लागि प्रख्यात छन् । मुख्यगरी वसन्त सिजनमा विदेशी मुद्रा आर्जन वृद्धि हुने गर्छ । यो सिजनमा मौसम स्थिर हुने भएकाले नेपालका हिमाल आरोहणमा विदेशीहरूको संख्या वृद्धि हुने गर्छ ।
